मध्यविन्दुमा फाल्गुन ५ गतेबाट राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता हुने

माघ १२ , मध्यविन्दु
मध्यविन्दुमा राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आगामी फाल्गुन ५ गतेबाट नवलपुर जिल्लाको मध्यविन्दु २ राईनो कप खेलमैदानमा प्रतियोगिता हुने छ । नन्दभाउजु उपभोक्ता समितिको आयोजना हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहने छ । आईतबार गरिएको पत्रकार सम्मेलनमा नन्दभाउजू उपभोक्ता समितिको अध्यक्ष दोमन भण्डारीका अनुसार प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको विभागीय टोली, आयोजक नवलपुर जिल्ला सहित ए डिभिजनका फुटबल क्लबहरू गरि सहभागि रहने छ । प्रतियोगितामा प्रथम हुनेले १० लाख, द्वितीय हुनेले पाँच लाख पुरस्कार पाउने छन् । प्रतियोगितामा १ करोड १० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसी, जिल्ला फुटबल संघका जिल्ला अध्यक्ष सेतमान पुन लगायतको सहभागिता रहेको थियो ।
विश्वकै दुर्लभ एक सिंगे गैडा संरक्षणका लागि सचेतना फैलाउने उद्देश्यले नवलपुरमा विगत १० बर्षदेखि प्रतियोगिता गरिदै आएको छ ।
कार्यक्रममा प्रचारप्रचार समितिका संयोजक विष्णु अधिकारीले समुदायकै कारण नेपालमा गैडा संरक्षण हुन सकेको बताए ।
तपाइँको प्रतिक्रिया