मध्यविन्दुको चोरमारा प्राथमीक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा स्तरउन्नती गरिदै

नवलपुर ,भदौ २७
पबित्रा पराजुली
नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा रहेको चोरमारा प्राथमीक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा निर्माण गरिएको छ । १५ शैयाको मध्यविन्दु नगर अस्पताल निर्माणको लागि २४ करोड ४० लाख रुपैया बराबरको ठेक्का सम्झौताको प्रक्रियामा रहेको छ । ठेक्केदार कम्पनीहरुको प्राविधिक र आर्थिक पक्षको विश्लेषणको काम भइरहेको र त्यो सम्पन्न हुन साथ नगर अस्पताल निर्माण ठेक्का सम्झौता हुनेछ ।
विगतको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई मध्यविन्दु नगर अस्पतालको रुपमा स्थापना गरी नगर अस्पतालको रुपमा शुरु भएको सेवा प्रवाहलाई व्यवस्थित र थप सुविधा सम्पन्न गर्न अस्पताल सञ्चालक समिति र सिंगो नगरपालिका लाग्ने नगर प्रमुख एवम् अस्पतालका अध्यक्ष भिमलाल अधिकारीले बताउनुभयो । अस्पतालको लागि आवश्यक उपकरण खरिद, सेवा बिस्तार लगायतको कार्य तत्काल शुरुवात गरिने बताउदै उहाँले आवश्यक पक्रिया पुरा गरेर तत्काल नगर अस्पतालको नयाँ भवन निर्माणको लागि पक्रिया शुरुवात गर्न आफु आतुर रहेको उहाँले बताउनुभयो ।
नवलपुरको मध्यविन्दु नगर अस्पतालका पदाधिकारीले सोमबार पदभार ग्रहण गरेका छन् । मध्यविन्दु नगर अस्पताल स्थापना तथा सञ्चालन कार्यविधि अनुसार गठन भएको नगर अस्पताल सञ्चालक समितिका पदाधिकारीले अस्पतालमा पदभार ग्रहण गरेका हुन् ।
नगर अस्पतालको अध्यक्षमा नगर प्रमुख भिमलाल अधिकारी रहनु भएको छ । कार्यविधि अनुसार नगर अस्पतालको अध्यक्षमा नगर प्रमुख रहने व्यवस्था रहेको छ । अस्पतालको उपाध्यक्षमा नगर प्रमुख भिमलाल अधिकारीले अमृत प्रसाद ज्ञवालीलाई मनोनित गर्नुृ भएको छ । ज्ञवाली यस अगाडी चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रको अध्यक्ष समेत हुनुहुन्थ्यो ।
नगर अस्पताल सञ्चालक समितिमा पदेन र मनोनित गरी १७ जना पदाधिकारीहरु रहने व्यवस्था रहेको छ । जस अनुसार नगर अस्पतालको सदस्यहरुमा कार्यपालिका सदस्यहरु गणेश प्रसाद पाठक, अर्जुन पंगेनी मनोनित हुनु भएको छ । यस्तै मधुविलाश अधिकारी, राधा ढकाल, नेत्रप्रसाद पोखरेल, सरस्वती पन्थी, टिकाराम पाण्डे, गोपिकृष्ण अर्याल र विन्दु काफ्लेलाई सोमबार नै नगर प्रमुख एवम् नगर अस्पताल अध्यक्ष भिमलाल अधिकारीले मनोनित गरिएको पत्र समेत प्रदान गर्नु भएको छ ।
नगर अस्पतालको पदेन सदस्यहरुमा मध्यविन्दु–७ का वडा अध्यक्ष कर्ण बहादुर मल्ल, स्वास्थ्य शाखा प्रमुख ख्याम प्रसाद क्षेत्री, प्रशासन शाखा प्रमुख बिष्णुराज गौतम, सृजना पाण्डेय गैरे र सदस्य सचिव राम प्रसाद पाण्डे रहनु भएको छ ।
तपाइँको प्रतिक्रिया