मनकामना केवलकारको भाडा बढ्यो

३ भदौ, गोरखा
गोरखाको मनकामना मन्दिर जाने केवलकारको भाडा बढेको छ । मनकामना दर्शन प्रालिले भदौ १ गतेदेखि लागू हुने गरी ५ प्रतिशत भाडा बढाएको हो ।
यसअघि चितवनको कुरिनटारदेखि मनकामना मन्दिरसम्मको केवलकारको दुईतर्फी भाडा ६ सय ४० रुपैयाँ रहेकोमा बढाएर ६ सय ७५ रुपैयाँ पुर्याइएको छ ।एकतर्फी यात्राको भाडा भने १० रुपैयाँ वृद्धि गरेर ३ सय ९५ रुपैयाँ पुर्याइएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले भाडा बढाउने निर्णय गरेको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिल्लीनारायण कायस्थले बताए ।
स्थानीय तहलाई तिर्नुपर्ने कर बढेकाले भाडा बढाइएको उनको भनाइ छ । केवलकारको तल्लो स्टेशन चितवनको इच्छाकामना गाउँपालिकामा र माथिल्लो स्टेशन गोरखाको शहीद लखन थापा गाउँपालिकामा छ । कम्पनीले दुबै स्थानीय तहलाई प्रति टिकट एक प्रतिशत कर तिर्नुपर्ने भएकाले मूल्य बढाएको बताएको छ ।
दुई स्थानीय तहलाई बिक्री भएको टिकट मूल्यको १ र १ प्रतिशत कर बुझाउनुपर्ने र कर्मचारीको तलब पनि २० प्रतिशतले वृद्धि गरेकोले भाडा बढाएको उनले बताए ।
तपाइँको प्रतिक्रिया