मन्त्रिपरिषद् बैठकमा कांग्रेस-एमालेका मन्त्रीबीच भनाभन, महेशले प्रधानमन्त्रीलाई हपारे

– विमल योगी
काठमाडौं, १५ असोज । प्रधानमन्त्री सुशील कोइरालाको राजीनामाको विषयलाई लिएर मन्त्रिपरिषद बैठकमा एमालेका मन्त्रीहरूले बबन्डर मच्चाएका छन् ।
बबन्डरसँगै मन्त्रिपरिषद बैठकमा झन्डै हात हालाहालको अवस्थामा पुगेको स्रोतको दाबी छ । सिंहदरबारमा आज आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री कोइरालाको राजीनामालाई लिएर चर्काचर्की भएको स्रोतले जनाएको छ । उद्योगमन्त्री महेश बस्नेतले प्रधानमन्त्रीले आजै राजीनामा दिनुपर्ने भन्दै अडान लिएपछि कांग्रेसका मन्त्रीहरू जंगिएका थिए ।
कोइरालाले राजीनामा नगर्ने तर नयाँं सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गर्ने बताएपछि एमाले मन्त्रीहरू आक्रोशित भएको स्रोतको भनाइ छ ।
नयाँं सरकार गठनको प्रक्रिया आरम्भ गर्न प्रधानमन्त्री कोइरालाले राष्ट्रपतिलाई आजै आग्रह गर्नुहुनेछ । प्रधानमन्त्रीले राजीनामा नदिए पनि नयाँ सरकार गठनका लागि भने आजैदेखि बाटो खुल्नेछ ।
एमाले मन्त्रीहरूले भने प्रमुख चार दलको पूर्वसहमति र संविधानको व्यवस्था अनुसार राजीनामा गर्नु उचित हुने बताएका छन् ।
स्रोतका अनुसार उद्योगमन्त्री बस्नेतले मन्त्रिपरिषद बैठकमा ‘एमाले मन्त्रीहरूलाई हटाउन मिल्छ भने संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीले राजीनामा गर्नु उचित हने भन्न किन नहुने ?’ भन्दै जंगिएका थिए । एमालेका अन्य मन्त्रीहरूले पनि प्रधानमन्त्रीले राजीनामा गरेर संविधान कार्यान्वयन र तीन दलीय सहमतिको पक्षमा उभिनुपर्ने बताएका थिए ।
कांग्रेसका मन्त्रीहरूले राजीनामा गर्न आवश्यक नभएको र नयाँं सरकार गठनको प्रक्रिया आरम्भ गर्न सहयोग गर्न राष्ट्रपतिलाई अनुरोध गर्न सकिने भन्दै तर्क राखेका छन् ।
मन्त्रिपरिषद् बैठकमा कांग्रेस र एमालेका मन्त्रीहरूबीच प्रधानमन्त्रीको राजीनामालाई लिएर चर्काचर्की भएपछि बैठकको माहोल तात्तिएको थियो । घर फर्कने बेला कांग्रेस र एमालेका मन्त्रीहरूबीच भएको यो बिवादले अब बन्ने नयाँ सरकारलाई पनि केही समस्या पर्ने कांग्रेस मन्त्रीहरूको भनाई छ ।
तपाइँको प्रतिक्रिया