मन्त्रीको विषयमा विवाद समाधान : पौडेल समुहलाई माग अनुसारकै पाँच मन्त्रालय दिन तयार

काठमाण्डौ ९, सरकारमा पठाउने मन्त्रीको विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षधरबीच देखिएको विवाद समाधान भएको छ । सभापति शेरबहादुर देउवा पौडेल समुहलाई माग अनुसारकै पाँच मन्त्रालय दिन तयार भएपछि विवाद समाधान भएको हो । पौडेल निकट एक नेताका अनुसार देउवाले पाँच मन्त्रालय दिन सहमति जनाएसँगै सो समुहले मन्त्री चयनका लागि गृहकार्य थालेको छ । ती नेताका अनुसार बिहिबार बिहान उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र पौडेलबीच टेलिफोन वार्ता भएको र वार्ताका क्रममा देउवा ५ मन्त्रालय दिन तयार भएको सन्देश सुनाएका थिए । सो लगत्तै पौडेल समुहले मन्त्रीको नाम टुंगो लगाउन गृहकार्य थालेको बताइएको छ । देउवाले यसअघि ४ मन्त्रालयमात्रै पौडेल समुहलाई छुट्याएपछि पार्टी्भित्र विवाद बढेको थियो । कांग्रेसले सरकारमा सहाभागी हुने मन्त्रीको आजै टुंगो लगाएर प्रधानमन्त्रीलाई नाम दिने तयारी गरेको छ । देउवा सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएर भोलि स्वास्थ्य उपचारको लागि सिंगापुर जाने तयारीमा छन् ।
तपाइँको प्रतिक्रिया