“अब हजुरहरुलाई ती पापीहरुसँग बाचुन्जेल कहिल्यै भेट गराउने छैन”

श्रावण २३
चारैतिर छाइरहेको सन्नाटालाई छिचोल्दै हवाईजहाजकी एअर होस्टेस बोलिन्, “वेलकम टु काठमाडौँ”। भर्खरै मात्र जोडिएका मेरा दुइ परेला अलि लामो समय माया-पिरती लाउन नपाई छुट्टिए। यसो घडी हेरें, बिहानको २ बज्नै लागेको रहेछ। जेट्ल्यागले शरीर त्यसै शिथिल बनाइरहेको आभाष भैरहेको थियो। धेरै समयपछि स्वदेश फर्किंदा पनि मेरो मन फुरुङ्ग थिएन, सबै परिवार सहित आउन नपाएकोमा। एकप्रकारको भारी मन लिएर क्याबिनको ह्याण्डक्यारि बोकेर लुखुर-लुखुर बाह्यप्रस्थान ढोकातिर लागें। इमिग्रेशन सकेपछि बाहिर निस्किएर वरिपरि नजर लगाएँ, मध्यरात भएपनि सबैका आफन्त, नरनाताको राम्रै जमात थियो, बर्षौं पछि आएका आफ्ना मान्छेहरु संग माया साट्न। यसो सोचें-“मेरो त को पो छ र यहाँ लिन आउनलाई? बा-आमा आउन् भने बूढा-बूढी मान्छे, कसरी आउन्?” उराठ मन लिएर अरुलाई बेवास्ता गरेको बहाना गर्दै एअरपोर्ट बाहिर निस्किएँ। रात अझै बाँकि थियो, त्यसैले रात बिताउने उपाय खोज्न थालें।
“बैनी, १ कप कफी दिनुस् न”, कृत्रिम बत्तिको उज्यालोमा हल्का मुस्कुराइरहेकी एक अधबैंसे महिलासंग कफी मागें । खेतबारीमा ठडाइएका बुख्याचाहरु जस्तै ठिङ्ग्रिन्न उभिएका बिजुलीका पोलहरुमा जडान गरिएका बत्तिहरुले चारैतिर झलमल्ल पार्ने प्रयास गर्दै थिए। मेरा दुइ गह्रुँगा पाइलाहरु पनि मन लागि-नलागि आफ्नो गन्तव्यमा लम्किन उद्दत थिए।
“पुग्नेबित्तिकै खबर गर्नुस् है”, हिंड्ने बेला अमिलो मन बनाउदै भनेकी थिइन् “अर्चना”ले। सिमकार्ड किनेर फोन गर्ने सोच्दै वरिपरि खुलेका पसलहरुको खोजीमा लागें, तर भेटाउन सकिन; बेला उपर्युक्त भएन।सहज प्राप्तिको आश गरेको चिज अप्राप्त हुँदा मन अति खिन्न र अस्थिर बन्दो रहेछ।समय पनि बित्दै गयो। उषाकाललाई उछिनेर बिहानीले ६ बजेको जनाउ संकेत गर्यो। रातभरको अनिदोले लोलाएका मेरा आँखा सरसर्ती घुमाएँ वरपर। फाटङ्ग-फुटुङ्ग खुलेका चिया पसलहरु बाहेक केहि देखिन। नजिकैको चिया पसलमा गएर १ कप चिया माग्दै साहुजीलाई सोधें-“यहाँ सिमकार्ड कहाँ किन्न पाइन्छ, दाजु?”
“पल्तिर एउटा पुस्तक पसल छ, ७ बजे पछि खुल्छ, त्यहिँ बाट लिनुस् न”, ठुलो चियाको ट्रेमा ८/१० वटा सिसाको गिलासमा चिया राख्दै साहुजीले भने।
सोचें- “अब अझै १ घण्टा कसरी बिताउनु ?”
“अर्चना, म राम्रैसंग काठमाडौँ ओर्लिएँ है। सिमकार्ड किन्न ढिलो भएकाले चांडो खबर गर्न पाइन। अनि “बिभान” र “एलिशा” के गर्दै छन्? आफ्नो अनि बालबच्चाको राम्रो ख्याल गर है, म चाडै फर्कन्छु”, न्युयोर्कमा भएकी मेरी अर्धाङ्गिनिलाई फोन लगाउदै भनें ।
“हवस्,यताको चिन्ता नगर्नुस् हजुरले, म सम्हाल्छु सबै।” मेरो फोनले उनि पनि ढुक्क भईन्। अब भने मेरो मन गन्तव्यमा पुग्ने र धेरै बर्षपछि बा-आमा भेट्न पाउने आशाले रमाइरहेको थियो। घरमा बा-आमालाई फोन गर्ने प्रयास गरें, तर फोन लागेन। “फोन चार्ज गर्न त आउदैन राम्रोसंग मेरा बा-आमालाई; चार्ज गर्दिनी मान्छे पनि त भएनन् होला, अनि कहाँबाट लागोस् त फोन”,चित्त बुझाएँ ।
घर जान बसपार्क जाने पर्खाइमा सडकमा उभिएँ। बाली खान आउने सलह किराजस्तै देखिने गरि एकदम धेरै सार्बजनिक यातायातहरु सलल दौडिरहेका थिए रिङ्गरोडमा। “कति अस्तव्यस्त छ है यहाँको ट्राफिक, कसरी व्यवस्थापन गरिरहेको होला नेपाल सरकारले?”, विदेशको सार्बजनिक यातायातसंग मनमनै तुलना गर्न लागें।
एकैछिनमा “चाबहिल-चक्रपथ-सामाखुसी-गंगबु-बसपार्क-कलंकी” भन्दै कोकोहोलो हाल्दै आएका “महानगर यातायात” का एक सहचालक भाइले गाडी रोकाए। बिस्तारै बसमा चढेर महिला सिट पछाडिको सिटमा बस्न लागेको थिएँ, कसैले पछाडिबाट बोलायो-“प्रशान्त”। फरक्क फर्केर हेरेको त “बिशाल” पो रहेछ। बि एस्सी पढ्दादेखिको अति मिल्ने साथी। काठमाडौँमा +२ कलेज संचालन गरेर अहिलेसम्म किशोरावस्थाका धेरै नानी-बाबुहरुलाई दीक्षित गराएको साह्रै राम्रो मनोवृत्ति भएको धेरै विद्यार्थीहरुको प्यारो सर।
“खबरै नगरी आएछस् त, गरेको भए त म एयरपोर्टमा लिन आइहाल्थें नि”, उसले मेरो दिलखुस बनायो।
“छुट्टी अकस्मात् मिल्यो, हतार-हतार टिकट काटी आएँ, कसैलाई खबर गर्न नि पाइन”, मैले भनें।
“अनि किन एक्लै आइस् त, भाउजू छोरा-छोरीलाई किन नल्याएको?”, उसले सोध्यो।
“अर्चनाको कामले गर्दा छुट्टी मिलाउन सकिएन, मेरो मात्रै छुट्टी मिलेकाले सो समयको सदुपयोग पनि हुने र बा-आमासंग भेट पनि हुने भन्ने सोचेर एक्लै भएपनि आएँ; नाति-नातिनाले पनि हजुरबा-हजुरआमा संग भेट्न खुब रहर गरेका थिए तर ल्याउन सकिन”, मैले भनें।
“अनि यत्रो बर्षसम्म किन आएनस् त एकपटक पनि घर परिवार सम्झेर?”, प्रश्नमाथि प्रश्न थप्दै गयो उसले।
“विदेशको बसाई भनेजस्तो सजिलो हुने रहेनछ; काम छ त जीवनको अस्तित्व छ; अरुले सोचेजस्तो पैसा बोटमा फल्दैन; दैनिक घरखर्च धान्नको लागि शरीरले थेगेसम्म काम नगरी सुख छैन; काम भन्यो, भिसा स्टाटस भन्यो, यस्तैमा रुमलिंदा-रुमलिंदैआउने अवसर पनि मिलेन”, सबै बेलिबिस्तार लगाएँ यताको परिस्थितिको।
“अनि तँ कहाँ हिडेको त एकाबिहानै?”, मैले सोधें।
“कलेजको कामले केहि दिनको लागि पूर्ब हिंडेको, ९ बजेको बस छ बसपार्कबाट”।
हाम्रो भलाकुसारी अझै चल्नेवाला थियो, तर सहचालक भाइले बसपार्क आइपुग्यो भनेपछि एक्कासी ब्रेक लाग्यो र हामी दुवै ओर्लियौं । उसले त पहिल्लै काटिसकेको रहेछ टिकट। मेरो लागि पनि टिकटको व्यवस्था गर्दियो; अनि हामी आ-आफ्नो बस छुट्ने ठाउँतिर लाग्यौं। छुट्टिन लाग्दा बिशालले भन्यो-“फर्किंदा समय निकालेर आएस्; अझै धेरै कुरा गर्न बाँकि छ; मेरो परिवार संग पनि भेटाउँला।”
मेरो बस पनि १० बजे छुट्नेवाला थियो। बाहिरतिर बसौं भने कता बसौं, गएर बसको सिटमा थकाई मारें।
“दाइ, अलि उता सर्नु न”, झसङ्ग झस्किएँ; जेट्ल्यागले अघिनै झकाइसकेको रहेछु। भर्खरको अधबैंसे युवक थकित मुद्रामा मेरो सिटको छेवैमा आएर बस्यो।
१० बजे पछि गाडीले पनि आफ्नो गति लिन सुरु गर्यो गन्तव्यतिर पुग्नलाई। बसको झ्यालबाट नजर डुलाउदा देखिएका दृश्यहरुको स्वाद लिदैं गम्दै थिएँ-“कती धेरै परिवर्तन भैसकेको रहेछ।”बसको रफ्तारसंगै देखिएका दृश्यहरुसंग रोमान्चित हुदैं र कैंयौ कुराहरु मनमा खेलाउदै हिंडिरहेको थिएँ एकाग्र भएर। तत्क्षण शुन्यता छिचोल्दै छेवैको भाइले सोध्यो-“दाजु, विदेशतिरबाट?”
“हो भाइ”, मैले सिधा उत्तर दिएँ। सुकिला कपडा, कानमा एअरपड, अनि हातमा परिस्कृत आइफोन; सायद मेरो लवाई र हाउभाउले होला, उसले सहजै अनुमान लगायो। हाम्रो सुरुवाती बार्तालापलाई थप औपचारिकता दिन फेरि सोध्यो-“कुन देशबाट?”
“अमेरिकाबाट, पढाइको शिलशिलामा केहि बर्ष पहिले अमेरिका गएको थिएँ, बल्ल फर्किने मौका मिल्यो”, मैले भनें।
“यत्रो समयसम्म पनि घर-परिवारको सम्झनाले तानेन त?”, प्रश्नमाथि प्रश्न गरिरह्यो उसले। मैले फेरि उत्तर दिएँ-“पढाई, कामले फुर्सद नपाएर हो भाइ; अहिले बल्लतल्ल केहि समयको छुट्टी मिलाएर आएँ; तर सबै परिवार आउन पाइएन; के गर्नु भाइ विदेशको कुरा सबै चाँजो-पाँजो मिलाई आउन नमिल्ने।”
मैले पनि हाम्रो कुराकानी अगाडी बढाउन उसको पनि जानकारी खोतल्ने प्रयाश गरेर सोधें-“भाइको बसाई काठमाडौँतिरै?”
“होइन, बूढा भएका बा-आमा बिरामी भएर जचांउन ल्याएको थिएँ।१७ दिनको बसाईपछि फर्किंदै छौँ।आजकालका च्याउझैं खुलेका अस्पतालहरु पनि उपचार सेवा दिने भन्दा पनि पैसा मात्रै कुम्ल्याउने सुरमा संचालित छन्।पैसा नै मुख्य आदर्श ठान्छन्।हिप्पोक्र्याटिक ओथ खाइसकेपछि त मानवसेवालाई जोड दिनु नि”, अन्तर्मनदेखिनै निराशा पोख्दै थियो उसले अहिलेका अस्पतालहरुप्रति।
“कस्तो छ त बा-आमालाई अहिले?”
“अलिक ठिक हुँदै गा’छ; अझै केहि समय राख्नुपर्छ भन्दै थिए, चित्त नबुझेर आफै स्याहार गर्छु भनेर लिएर आएँ; ल्याएको खर्चपानी पनि सकिसक्यो।”
“अनि खोइ त बा-आमा?”
“बूढा-बूढीलाई बान्ता हुन्छ, अगाडिको सिट मिलाइदिन भनेको बल्लतल्ल बा-आमालाई त मिलाइदिए, मलाई पछाडी पठाए।”
“अनि भाइले के गर्नुहुन्छ नि?”
“गाउँघरतिर ठेक्कापट्टाको काम गर्छु र अलिअलि समाजसेवा पनि।”
“साह्रै राम्रो, तपाईंहरुजस्तो उर्जावान् युवाले समाजको लागि योगदान गर्नु भनेको त साह्रै राम्रो कुरा हो; शुभकामना छ तपाईंलाई ।”
कुरैकुराको सिलसिलामा ४ घण्टा बितिसकेछ। “चितवन ओर्लिने जति अगाडी आउनुस् है”, सहचालक भाइले ढोकाबाट चिच्याउदै थियो। यत्तिकैमा मेरो छेवैको भाइले भन्यो-“हुन्छ त दाजु, म अहिले चितवन झर्छु; बा-आमालाई देवघाट घुम्ने साह्रै रहर छ; केहि दिन घुमाएर फर्किन्छु; हजुरलाई भेटेर एकदम खुसी लाग्यो।”
अहिलेको यस्तो बदलिँदो समयमा मानिस यति व्यवसायिक बन्न खोजेको छ कि हर कुनै अन्तरसम्बन्धमा ऊ अत्यधिक मुनाफा खोजिरहेको हुन्छ। मनमनै सोचें-“यो कहाँको ‘श्रवणकुमार’जन्मिएछ, जो यति धेरै व्यवहारिक र बफादार छ आफ्नो नाता र सम्बन्ध जोगाउनमा । “ किनकि म स्वयं एक त्यस्तो उदाहरण थिएँ जो व्यवहारिक “श्रवणकुमार” होइन व्यवसायिक “मुनाफाकुमार” बन्न बूढा भएका बा-आमासंग बर्षौं टाढिएर बसें । मलाई पनि मुखबोला साथी भेटिएको थियो। उ झर्ने कुराले मन हल्का खिन्न भयो। हात हल्लाउदै भने-“हुन्छ भाइ, बा-आमाको राम्रो ख्याल राख्नु; जीवनको कुनै मोडमा फेरि भेट होला, आशा राखौं।”
गोधूलि साँझ परिसकेको थियो “अर्खले” ओर्लिंदा। दिनभर चर्न निस्केका गाइबस्तुहरु गोठ फर्किसकेका थिए। उपल्लाघरे ढकालबाको घर नजिकैको बाँसघारीमा चराहरु पनि बास बस्ने क्रममा चिरबिर-चिरबिर गरिरहेका सुनिन्थे। लगेज र ह्याण्डक्यारि गुडाउँदै हिंडेको देख्दा जो कोहिले विदेशबाट आएको सहजै अनुमान लगाउन सक्थे, तर बाटोमा कोहि देखिन। बा-आमा भेट्न पाउने कुराले मन पुलकित भैरहेको थियो। यताउति नगरी सिधै बा-आमा बस्ने पुरानो टिनले छाएको पुर्ख्यौली घर पुगें । घरमा ताला लगाएको रहेछ। वरपर हेरें, कोहि देखिन। “कहाँ जानुभएछ, साँझसम्म पनि घर आइपुग्नु भा’छैन त”, मन त्यसै सशंकित भयो। उदाश मन लिएर घर मास्तिर लागें। अर्जेलनी आमाले भान्सा सकेर जुठेल्नोमा भाँडा मस्काउँदै हुनुहुँदोरहेछ।
“नमस्ते आमा, सन्चै हुनुहुन्छ?”
“नमस्ते, सन्चै आइपुगेउ बाबु? खोइ त परिवार?”
“सपरिवार आउन मिलेन आमा, एक्लै आएँ; अनि बा-आमा कहाँ जानुभएछ? देखिन त घरमा; ताला पनि लगाको रहेछ।”
“बा-आमा त थुप्रै भो जेठा/माहिलाकोमा बस्न शहर जान्छम् भनेर हिडेको। ३ बर्षजती भो क्यारे बुटवलतिर गएको; त्यसपछि हामी संग पनि भेट भा’को छैन।”
यस्तो प्रविधिको बिकाश भएको अवस्थामा पनि यत्रो लामो समयसम्म बा-आमा संग सम्पर्क हुन सकेको थिएन। मेरा बा-आमालाई राम्रोसंग फोन चलाउन नआउने, दाजुहरु पनि अंशबन्डाको बेला म संग त्यसै रिसाएका थिए। कहिल्यै भाई कस्तो छ भनेर सम्झन समेत प्रयास गरेनन् । यत्तिकैमा खाना खाएर गाउँ घुम्न गएका अर्जेल बा पनि टुप्लुक्क आइपुगे र मलाई देखेर अचम्म मान्दै सोधे-“कैले आइस् प्रशान्त ? बा-आमा अनि गाउँघरको माया मारिस् क्यारे।”
“होइन बा, परिस्थिति मिलेन, यस्तै भयो।”
“ल आज यतै बस्, थाकेको होलास्; भोलि-पर्सि गाउँघर घुम्, अनि बा-आमा भेट्न बुटवल जालास्; हामीले पनि ३ बर्षजति भयो भेटेको छैन; सहर गएसीबूढा-बूढीले पनि गाउँको माया मारे।” अर्जेल बाले पनि मेरा बा-आमा भेट्न नपाकोमा गुनासो गरे। खाना खाइवरि सुत्न त गएँ तर रातभर निन्द्रा लागेन। यतिका समयमा बा-आमा भेट्न आउँदा पनि समयमा भेट्न पाइन। मन चंचल भैरह्यो। बा-आमासंग बिताएका पलहरुको स्मृतिले निद्रारानीलाई भगाइरहे।
बिहान उठ्नेबित्तिकै बुटवल हिडिहाल्न मन लाग्यो। अर्जेल बा र आमासंग बिदा मागेर बुटवल बजार झरें।
मेरा २ दाजुहरु, बालबच्चाको भविष्यकोलागि भन्दै म अमेरिका गएकै बर्ष अंशबन्डा गरि शहर पस्नुभएको। बुटवल झरिसकेपछि “सिमान्त” दाइलाई फोन लगाएँ-“दाइ दर्शन, आरामै हुनुहुन्छ?”
“प्रशान्त, सन्चै छ?”
“हजुर दाइ, सन्चै छु; म अहिले बुटवल बजारमा छु, हजुरहरु कहाँ हुनुहुन्छ?”
“हो र? कहिले आइस्; खबरै नगरी आएछस् त; पख् म एकछिनमा लिन आइपुग्छु”, दाजुले भन्नुभो।
केहिछिनको पर्खाइपछि दाजु आइपुग्नुभो, अनि दाजुको घर पुगें। भब्य घर अनि उच्च जीवनशैली, मन लोभियो।
“यहीं बसेर यत्रो प्रगति गरिरहेका छन् मेरा दाजुहरुले, म चाहिं बा-आमा, परिवार छोडेर विदेशिएको छु”, मनमनै सोचें।
एकैछिनमा भाउजू र भतिजो-भतिजी पनि आए। भाउजूसंगको कुराकानीको क्रममा भतिजो-भतिजी मेरो वरिपरि मौरीले रानो घुमेझैं घुमिरहे। सायद काकाले के-के ल्याईदिनुभा’छ भन्ने भएर होला, केटाकेटी न परे। मैले लगिदिएका खेलौना र कपडा दिएपछि खुसी हुदै खेल्न गए। यत्रो बेर सम्म पनि अझै बा-आमा देखिन र सोधें-“बा-आमा खोइ त दाइ?”
“तँ पनि विदेश भइस्; बा-आमाको ख्याल गर्ने पनि कोहि भएन; तँलाई थाहा छ त “जीवन” र मेरो परिवार सबै आ-आफ्नै काममा ब्यस्त; त्यहि भएर जीवन र मैले सल्लाह गरेर बृद्दाश्रम छोडेर आएका छौं; २ बर्ष जति भो; पोहोर मात्रै भेटेर अलिअलि खर्च र लत्ताकपडा छोडेर आएको हो।”
दाजुको कठोर मनको सरल बोलि सहजै निस्कियो। सुन्नेबित्तिकै जिउ सिरीङ्ग भएर आयो। दाजुहरुसंग भाउन्ना छुटेर आयो।
“बूढा भएका बा-आमालाई २ छाक खुवाएर राख्न नसकेर के गरेको होला त्यस्तो?”, लाचार भएर मनमनै गमें। केहि समयपश्चात् जीवन दाइको परिवार पनि झुल्किनुभयो।
कन्सिरीमाथि चढेको मेरो रिसले सिमा नाघ्यो;अनि रिसैरिसले आगो भएर चिच्याएँ-“अब कती धेरै दु:ख दिन्थे होला र ती डाँडामाथिका जून भएका बा-आमाले र यो उमेरमा ‘बाह्र छोरा तेह्र नातिबूढाको धोक्रो काधैमाथि’ बनाउनुभयो तिनीहरुलाई?”
मेरो आवेग देखेर माइला दाइ पड्किए-“मानिसको उचाई भन्दा छाँया लामो र औकात भन्दा कुरा ठुलो भयो भने बुझ्नु कि घाम अस्ताउदै छ; ठुला कुरा नगर्; तेरो पनि त जिम्मेवारी हो; हाम्रो ब्यस्त जीवनमा पर्याप्त समय दिन सकेनौं उहाँहरुलाई; आफ्नो उमेरका साथीसंगी संग भेट पनि हुन्छ, मन पनि भुल्छ भनेर बृद्दाश्रम राखिदिएका हौँ; बर्सेनि भेट्न गएकै छौं।”
म नि:शब्द। आफुले खाई-नखाई हुर्काएर, बढाएर यतिका ठुला बनाका छोराहरुको महलमा १ जोडी निरीह पन्छीको पिंजडा अट्ने ठाउँ छैन। एकमनले सोचें-“सायद मेरा दिदि-बैनी हुँदा हुन् त आज यो स्थिति आउन दिने थिएनन् होला।” म उहाँहरुको कुराले अगम्य भएँ र भने-” म पनि त आफ्नो भविस्य बनोस् भनेर बाध्यताले नै विदेशिएको हुँ; यतिका बर्षपछी आएर मलाई हजुरहरुसंग झगडा गर्नु छैन; मलाई ठेगाना दिनोस्; म आफै जान्छु भेट्न।”
भित्रि मनले नमानेपनि देखाउनकै लागि भए पनि मलाई बृद्दाश्रम पुर्याए दाइहरुले ।
अफसोच! यत्रो बर्षदेखिको बा-आमा भेट्ने सपना अझै पुरा हुन सकेन मेरो। यो थाहा पाएँ कि बा-आमा त १ वर्ष पहिला नै तिर्थ जान्छम् भनेर बृद्दाश्रम छोडेर हिडिसक्नुभएको रहेछ।
दाजुहरूलाई त के वास्ता; बेखुस भएको आभाष मात्र दिइरहेका थिए। तर मेरो मन भने साह्रै अमिलिएर आयो। भक्कानो छोडेर रुनुजस्तो भयो। ठुलो गर्जनका साथ मनको ज्वालामुखी बिस्फोट होलाजस्तो भयो। भविस्य बनाउने नाममा आफ्ना बा-आमा भेट्नै नपाउँला जस्तो भयो। म अवाक् भएँ। कसैको मुखमा हेर्न सकिन। जीवन उराठलाग्दो भएको महशुस भयो। कसैको मुख नदेख्नेगरि विदेश फर्किउँ जस्तो लाग्यो। घर फर्केपछि कोठामा छिरेर रोएँ, धेरै रोएँ। जीवित देवी-देवताको महत्व बुझ्न नसकेकोमा धेरै आत्मग्लानी भयो। चिच्याएँ, कराएँ-“के अब बा-आमालाई देख्न पाउँदिन त?”
कतिबेला निदाएछु पत्तो पाइन। बिहान उठ्दा टाउको भारि भएको र आँखा सुन्निएका थिए। भतिजो-भतिजी आएर खेल्न खोजे म संग। ति अबोध बालबच्चासित मन खोलेर खेल्न पनि सकिन। एकमनले सोचें-“आज मेरा दाजु-भाउजूहरुले आफ्ना बा-आमालाई गरेको व्यवहार पछि यिनीहरुले पनि गरे भने के आफुले गरेको कुकृत्य सम्झलान् त मेरा दाइहरुले पनि?” तर म प्रार्थना गर्छु कि यिनीहरुले त्यस्तो कदापी नगरुन्।
मेरो लागि अब मेरो भनेर बस्ने आधार कोही भएन शिवाय ति भगवानरुपी बालबच्चा। छुट्टी छोट्टाएर अमेरिका फर्कने निधो गरें। “अर्चना, म चांडै फर्कदै छु”, श्रीमतीलाई फोन लगाउदै भनें।
“किन र? बुवा-आमालाई ल्याउने चाँजो-पाँजो मिलाएर आउनु न बरु; हामी पनि जान पाएनौं; यतै भेट होला; केटाकेटीले नि हजुरबा-हजुरआमा चिन्छन्”, अर्चनाले बा-आमाको न्यास्रो लागेको झल्को दिईन्। अर्काकी छोरी भएर पनि बरु बा-आमालाई आफ्नै ठानी माया गर्ने यिनै रहिछन्। आफ्ना भन्नेले त शरीरमा प्राण रहुन्जेल फर्केर हेर्न चाहेनन्; अब प्राण गएको थाहा पाए भने कात्रो हटाई-हटाई हेर्लान्।
“कुरा अर्कै छ, त्यहीं आएर भनौंला; दुर्भाग्य मेरो: बा-आमा संग भेट भएन; २/४ दिन पछि फर्किन्छु होला”, फोन काट्दिएं।
मनमा अनेकौं विचारहरुका तानाबाना बुन्दै घरमा मात्रै बस्न मन लाग्यो बाँकी दिनहरुपनि । दाजुहरूलाई मेरो खासै वास्ता थिएन र बा-आमा कहाँ गएहोला भन्ने रत्तिभर पनि दुखेसो थिएन। तर मेरो मन भने यति बिचलित थियो कि सम्हाल्ने कुनै उपाए नै थिएन।
सोच्दै थिएं-“तिर्थ जान्छु भनेर हिडेका मेरा बा-आमा कहाँ गए होलान्? के गर्दै होलान्? डाँडापारीको जून भएको अवस्थामा घरको न घाटको भएर कहाँ हिडिरहेका होलान्? हे भगवान्! जसरि भएनि १ पटक भेट गराइदेउ, बाँकि व्यवस्था म गर्नेछु।” अनेक तर्कनाहरु मनमा खेल्दै थिए। म अमेरिका जाने बेला आमाले छोराको पढाई राम्रो होस् र अमेरिका छिट्टै जान पाओस् भनि घरभन्दा माथि२ घण्टा उकालो चढेर जानुपर्ने पिपले डाँडाको मन्दिरमा गएर भाकल गरेको र सोहि अनुरुप भाकल पुरा भएको सम्झना आयो। सोचें-“त्यहि मन्दिरमा गएर बा-आमा संग छिट्टै भेट होस् भनि भाकल गरेर अमेरिका फर्कन्छु।”
भोलिपल्ट बिहानसबेरै उठें, अनि आत्महत्या गरुँला झैँ गरि झुन्डिएका लुगाहरु ट्याप्प टिपेर पहिन्दै बुटवल छाड्ने तयारी गरें। अर्खलेपुगेर अर्जेल बा र अर्जेलनी आमा संग भेटेर सबै वृतान्त सुनाएँ। साह्रै भक्कानिनुभयो उहाँहरुपनि। भनें-“बा, अब २/४ दिनमा फर्किन्छु होला म, कोइ छैनन् मेरो भन्नु यहाँ; कसका लागि बस्ने?” अर्जेल बाले भने-“आशाबादी बन्नुपर्छ, बा-आमालाई खोजेर जा बरु; ज्यादा दु:ख नपाउलान्।” कुरा त ठिकै लाग्यो, तर कतिन्जेल सम्म? भेट्ने टुंगो छैन।
“हुन त हो बा, बरु छुट्टी मिलाएर फेरि आउँछु, अहिले जान्छु।” मैले त्यसो भनिरहँदा उनीहरु त्यति खुसी थिएनन्। आफ्ना दमालीहरु हराएको सुनेर उनीहरुलाई नि नमजा लागिरहेको थियो। फेरि भनें-“आज डाँडाको मन्दिर गएर दर्शन गरेर आउँछु।”
“को संग जान्छस् त?” बाले सोधे।
“एक्लै जान्छु, जीवनको एक मात्र सारथी मन संग भुल्दै।”
मैले यति भन्न नपाउदै अर्जेल बाले गाली गर्दै भने-“त्यस्तो घनघोर जंगलमा के एक्लै जान्छस्, म पनि जान्छु नि त तँ संगै; म पनि नगएको थुप्रै वर्ष भयो; भकारो सोहोर्ने आमा छंदै छ; अरु काम के नै पो छ र?”
खाना खाइवरि अर्जेल बा र म शनै-शनै उकालो चड्न लाग्यौं। धेरै समयपछि उकालो हिंडेकाले होला, थकानले छिटो हिंड्नै सकिन।
अर्जेल बाले बेला-बेला जिस्काउँथे-“बूढो गोरुको अगाडी बहर त कमजोर देखियो त!” गफैगफमा २ घण्टाको उकालो चढेर मन्दिर पुग्यौं। मन्दिरलाई पर्यटकीय उद्देश्यले पुनर्मर्मत तथा सजिसजाउ गरि राम्रो बनाइएको रहेछ। श्रद्दालु भक्तजनहरुको पनि राम्रै आवतजावत देखिन्थ्यो। पाटी तथा सत्तल पनि निर्माण गरि कैयौं बेघरबारहरुलाई आश्रय पनि दिइएको रहेछ। मन्दिरको मूलद्वारबाट प्रवेश गरि आफुले जाने अनुरुपको पुजा-अर्चना गरें र भेटि पनि चढाएँ। मन्दिरमा पुजा गरेसी “बर” माग्नुपर्छ भनि आमाले भनेको सम्झदैं बर मागें-“बा-आमा संग छिट्टै भेट होस्।”
अर्जेल बाले भने-“हिंड प्रशान्त, आधा घण्टा तल एउटा नमुना बस्ति छ, घुमेर आउलास्।” बाटोमा चौपायाहरु चराउन आएका गोठालाहरुसंग भलाकुसारी गर्दै “आदिबासी” बस्ति आइपुग्यौं।
मेरो “एक-अर्काप्रति दयालु/सहयोगी हुनुहोस्” भन्ने सोचसंग ठ्याक्कै मिल्ने सोच भएका धेरैमानिसहरु देखें। अनौठो लाग्यो एक-अर्कालाई इज्जत गरेको तथा सहयोगी भएको देखेर। शहरको हावाले छोएका, आफ्नो स्वार्थ मात्र हेर्ने, सम्बन्धलाई व्यवसायीकरण गरि नाफामुखी हुन खोज्ने खोक्रो सभ्यताको अगाडी त्यो स्वतस्फुर्त रुपमा स्थापित भएको नि:स्वार्थ, भद्रतथा शिष्ट सभ्यता देखेर म अवाक् भएँ।
सोचें-“यदि मेरा बा-आमाले जन्माएका सन्ततिहरु पनि यहि सभ्यतामा हुर्केका हुँदा हुन् त आज मेरा बा-आमा यो उमेरमा घरबारबिहिन हुदैन थिए होलान्।” अनि अर्जेल बालाई सोधें-“बा, यहाँका मानिसहरुको यति धेरै अवलम्बनयोग्य कुराहरु रहेछन्; यिनीहरुको सिको किन अरुले गर्न सक्दैनन्?”
बाले एक वाक्यमा जवाफ दिनुभो-“अरुको खुट्टा तान्ने प्रबृत्ति।” मानिसमा अरुलाई लडाएर आफु माथि जाने सोंच नआउँदो हो त अहिलेको विश्व धेरै फरक हुन्थ्यो। कुरैकुरामा साँझ पनि पर्न लाग्यो। अर्जेल बाले भने-“अब फर्किनुपर्छ।”
“बा, हजुर मान्नुहुन्छ भने आज यतै पाटीतिर बसेर त्याँहाका मानिसहरुसंग भलाकुसारी गर्ने मन छ मेरो। बा-आमाको झल्को मेट्न मन छ। अनि कस्ता-कस्ता पृष्ठभूमिबाट मानिसहरु यस्तो परिस्थितिमा आउने रहेछन् जान्ने इच्छा जाग्यो।”
“घरमा पनि खासै काम त छैन, तँ भन्छस् भने बसुँला”, बाले सहजै उत्तर दिए। म साह्रै खुसी भएँ। मेरा बा-आमा जस्ता मान्छे कती हुँदा रहेछन्, सो जान्ने मन भयो। पाटीको परिसरमा पाकेको मिठो-मसिनो खाएर रात बिताउने सुरसारमा विभिन्नथरि मान्छेहरु संग कुरा गर्न सुरु गरें।
ति मान्छेहरुको भिडमा एकजना पढेलेखेका जस्ता देखिने बुज्रुक बृद्द पनि थिए। त्याँहाको हरेक समस्याको समाधानको लागि खटेर लाग्ने। उमेरमा पनि अरुभन्दा केहि कम जस्ता देखिन्थे। मलाई जिज्ञासा लाग्यो र सुरुवात उहाँबाट गरें-“बा, कसरी यहाँ आइपुग्नुभो?”
“४ दाजुभाइ अनि २ दिदीबैनी भएको मेरो परिवारमा सबैका बालबच्चा/परिवार भए तर मेरो हुन सकेनन्; श्रीमती पनि चाडै स्वर्गबास भईन्; बैंस/उमेर छउन्जेल परिश्रम गरेर खाएँ, बूढो भएसी हेर्ने कोहि भएनन्, अनि पाटीको बास भयो बाबु”, रोउँला जस्तो आवाजमा “खडानन्द” बाले भने।
उनको कुरा सुनेपछि मनमनै सोचें-“बच्चा नभएकालाईबूढेसकालमा बच्चाप्रति त्यस्तो आश लाग्दो रहेछ, तर ३ भाइ छोरा भएका मेरा बा-आमालाई त्यो अवस्थामा बिरामी हुँदा तातो पानी दिने पनि कोहि छैन।” फेरि मन भाबुक भयो। अनि अरुहरुको पनि सोधें, धेरैको मिल्दोजुल्दो कथा रहेछ। केहि कुरा थप्दै खडानन्द बाले फेरि भने-“अर्का एक बृद्द जोडी पनि बस्छन् यहाँ, तिनीहरुको पनि छोरा-छोरीले नहेरेको रे; अहिले बिरामी भएर तल आदिबासी बस्तीको “सुमन” ले अस्पताल लिएर गएका छन्।
फेरि गमें-“आदिबासी बस्तीको ‘सुमन’? कती नि:स्वार्थ रहेछन् है त्यहाँका मान्छे; यहाँ आएर बूढा-बूढीको पनि हेरचाह गर्न भ्याउनेरहेछन्। यस्ता परोपकारी मनहरुप्रति भगवान् सधैं दाहिना होउन्।”
कुरैकुराको सिलसिलामा सबै सुत्न जाने तरखर गर्दै थिए। अर्जेल बा पनि अरु केहि बूढा-बूढीहरुसंग गफिंदै थिए। बाहिर कोहि बूढा-बूढी बोलेजस्तो लाग्यो। यसो नजर घुमाएको, धमिलो लालटिनको प्रकाशमा एक अधबैसेंले १ जोडी बृद्द-बृद्दालाई डोहोर्याउदै आइरहेका थिए। अलि नजिक आएपछि चिने चिने जस्तो लाग्यो। अचम्म मान्दै सोधें-“भाइ, तपाईं यहाँ?” ऊ पनि आश्चर्यचकित हुदै सोध्यो-“दाजु, हजुर यहाँ ?”
“अँ, म प्रशान्त, मेरो घर अर्खले हो; आज यहाँको मन्दिर दर्शन गर्न आएको; अनि तपाईं?”, मैले सोधें।
“म सुमन, मेरो घर पनि त्यहीं तल आदिबासी बस्तीमा हो।”
“ए, सुमन भन्ने भाइ पो हो? अघिनै खडानन्द बाले तपाईंको बारेमा कुरा गर्नुभा’को थियो। अनि बा-आमालाई देवघाट घुमाएर ल्याउनुभो त?”
“अँ दाजु, केहि दिन घुमाएर ल्याएँ, बा-आमा साह्रै खुसी हुनुभो”, उसले भन्यो।
मैले फेरि भने-“सबैका बा-आमाले तपाई जस्तो छोरा-छोरी पाए पो!”
म यता सुमन भाइसंग मिठो बार्तालाप गरिरहेको थिएँ, अरु बूढा-बुढीहरुपनि आफ्नो दौंतरी आएर खुसीहुँदै थिए। खडानन्द बाले सबैलाई भेला पार्दै भने-“हेर त दामोदर/दमोदरनी उपचार गरेर निको भएर आएछन्।” उहाँको कुरा सुनेर म झसङ्ग भएँ, “दामोदर/दमोदरनी ?” बिस्तारै अगाडी बढेर दामोदर/दमोदरनीको नजिक पुगें, यसो हेरेको त मेरो आँखाबाट बलिन्धारा आँशु बग्न थाल्यो। ड्वाड्वाती डाँको छोडेर रोएँ, कराएँ, चिच्याएँ-“धन्य भगवान्! मेरो पुकार सुनेऊ, मैले गरेको भाकल पुरा भयो।” बा-आमालाई अंगालो हालेर मनभरिका कुण्ठा धितमरुन्जेलआँशु बगाएर पखालें। आमाको मन कुंडिएर होला केहि बोल्न सक्नुभएन। बाले गला अवरुद्ध भएको आवाजमा सोध्नुभयो-“सन्चै छस् कान्छा?”
“बा-आमा, मलाई माफ गर्नुस्; अब हजुरहरुलाई ति पापीहरुसंग बाचुन्जेल कहिल्यै भेट गराउने छैन।”
मन सम्हालेर बाले भन्नुभयो-“पिर नगर् बाबु, यो संसारमा खुट्टा तान्ने र लडाउन खोज्ने आफन्त र इस्टमित्रहरु नै हुन्,परायाले त लडेको देखे उठाउँछन् वा झुक्किएर लडाउन खोज्दापनि माफी मागेर जान्छन्।” म यस्तो मानसिक अवस्थामा थिएँ कि “सुमन” भाइलाई एकटकले हेरिरहेको थिएँ, तर केहि वाक्य फुटाउन सकिन। म संग उसको लागि आभार प्रकट गर्ने कुनै शब्द नै थिएन। मनमा आयो, यदि मानिसको पुनर्जन्म हुन्छ भने सो जन्ममा “सुमन” मेरी आमाको कोखबाट जन्मिओस्।
लेखक : ज्ञानु काफ्ले
PhD भौतिकशास्त्र अध्ययनरत
Johnson City, New York, USA
7/31/2022, Sunday
तपाइँको प्रतिक्रिया