महानिर्देशक भरत सुवेदी (वैदेशिक रोजगार विभाग) को जागिर धरापमा

१३ असोज, काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक सहसचिव भरत सुवेदीले उमेर हदका कारण विहीबारदेखि अवकाश पाउने भएका छन् ।
दोहोरो नागरिकता लिई उमेर बढाएको आरोप लागेपछि सुवेदीले सर्बोच्च अदालतमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित विरुद्ध रिट दायर गरेका थिए । तर, बुधबार प्रधानन्यायाधीश कल्याण श्रेष्ठको इजलाशले सुवेदीको रिटमा कारण देखाउ इन्कार गरेपछि सुवेदीको जागिर धरापमा परेको हो ।
निजामति किताब खानामा भएको रेकर्डअनुसार सुवेदीले असोज १४ गते उमेर हदका कारण अवकाश पाउने भएका हुन् । तर, सच्याइएको नागरिकतामा भने उमेर हद अझै दुई बर्ष बाँकी छ ।
बुधबार सर्बोच्चमा बहसमा सामान्य प्रशासन मन्त्रालयका तर्फबाट बरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, नेपाल बारका अध्यक्ष हरिकृष्ण कार्की र उपाध्यक्ष टीकाराम भट्टराईले बहस गरेका थिए ।
सर्बोच्चको आदेशपछि विहीबार सुवेदीलाई अवकाशपत्र थमाइने सामान्य प्रशासन मन्त्रीका स्वकीय सचिव वसिम आलमले बताए । उनले भने, ‘अब सुवेदीलाई विहीबार अवकाश पत्र थमाइने छ ।’
तपाइँको प्रतिक्रिया