माओवादी केन्द्रका केन्द्रिय सल्लाहाकार थनेतको निधन

रामकुमार श्रेष्ठ,
नवलपरासी, १० साउन । नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहाकार खड्गबहादुर थनेतको गएराति निधन भएको छ ।
थनेतको गएराति चितवनको नारायणी सामुदायिक अस्पतालमा ह्दयघातका कारण निधन भएको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य किसान गैरेले बताए । नवलपरासीको कावासोती नगरपालिका १४ डण्डा निवासी ६७ बर्षीय खड्गबहादुर थनेत दुई दिन अघि ह्दयघात भई नारायणी सामुदायिक अस्पतालमा उपचार गराईरहेका थिए । आदिवासी जानजाति महासंघ नवलपरासीको पूर्व अध्यक्ष, राष्ट्रिय थारु संग्राहलयका अध्यक्ष, थारु कल्याणकारिणी सभाका केन्द्रिय पार्षद एवम् थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय सदस्य थिए । थनेतको आज नै नारायणी नदीको घाटमा अन्तेष्टी गरिने भएको पारिवारिक स्रोतले बताए । थनेतको निधनप्रति नेकपा माओवादी केन्द्र नवलपुर र नवलपरासीले दुख व्यक्त गरेको छ । नेकपा माओवादी केन्द्र नवलपुर जिल्लाका संयोजक किसान गैरे र नेकपा माओवादी केन्द्र नवलपरासीका संयोजक घनश्याम यादवले आज शोक वक्तव्य जारी गरी दुख व्यक्त गरेको हो ।
शोक वक्तव्यमा थनेतको निधनले कम्युनिष्ट आन्दोलनमा अतुलनीय क्षति पुगेको जनाइएको छ ।
त्यसैगरी नेकपा क्रान्तिकारी माओवादी नवलपरासीले पनि थनेतको निधन प्रति दुःख व्यक्त गरेको छ । नेकपा क्रान्तिकारी माओवादी नवलपरासीका इन्चार्ज अशोक लम्साल अनुकुलले आज एक शोक व्यक्तव्य जारी गरी थनेतको निधनले नेपालको कमप्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुगेको बताए ।
त्यस्तै यो· कम्युनिष्ट लिग नवलपुरका अध्यक्ष गणेश विक गुराँसले एक विज्ञप्ति जारी गरी थनेतको निधनप्रति दुःख व्यक्त गरेको छ ।
त्यसैगरी प्रेस सेन्टर नेपाल नवलपरासीका संयोजक गोपी ज्ञवाली, प्रेस सेन्टर नेपाल नवलपुरका संयोजक दीपक भट्टराई र क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीका अध्यक्ष रामकुमार श्रेष्ठले संयुक्त शोक वक्तव्य जारी गरी थनेतको निधन प्रति गहिरो दुख व्यक्त गरेको छ ।
त्यस्तै आदिवासी जनजाति महासंघ कावासोती नगर समन्वय परिषदका अध्यक्ष देवीसरा पुलामी मगर, थारु कल्याणी कल्याण सभा नवलपरासीका अध्यक्ष गणेशमान महतो लगायतले पनि वक्तव्य जारी गरि थनेतको निधन प्रति दुःख व्यक्त गरेको छ ।
यसैबीच थारु कल्याणकारिणी सभा नवलपरासी र आदिवासी जनजाति महासंघले थनेतको घर श्रद्धाञ्जली सभा गरेको छ ।
तपाइँको प्रतिक्रिया