मिटरब्याज पीडितहरुले काठमाण्डौंको टंगालमा प्रदर्शन, त्यसमा रबिको समर्थन

१४ चैत, काठमाडौं ।
मिटरब्याज पीडितहरुले काठमाण्डौंको टंगालमा प्रदर्शन गरेका छन् । न्याय माग्दै काठमाडौं आएका पीडितहरु प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढ्दा निषेधित क्षेत्रतर्फ जानबाट प्रहरीले रोकेपछि उनीहरुले टंगालमै बसेर प्रदर्शन गरेका हुन् ।
तमसुक व्यस्था खारेज गर, मिटरब्याजीलाई कारबाही गर, हाम्रो जफत गरिएको सम्पत्ति फिर्ता गर, मिटरब्याजीविरुद्धको कानुन निर्माण गर लगायतका नारा मिटरब्याज पीडितहरुले लगाएका छन् । मिटरब्याज पीडितहरुलाई भेटी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफू र आफ्नो पार्टी पीडितहरुको साथमा रहेको बताएका छन् ।
‘समर्थन र विरोध भन्दा पनि समाधानको पहल गर्न आएको हुँ,’ भन्दै रबिले भने सरकारले पीडितहरुको माग तुरुन्त समाधान गरेर समस्याको समाधान गर्नुपर्छ ।
मिटरब्याज पीडितहरुको समाधान गर्न आफू गृहमन्त्री हुँदा पहल गरेको र अहिले पनि त्यो पहल जारी राख्ने उनको भनाई थियो । ‘जाली तमसुक च्यातिनुपर्छ, गरिबलाई ऋणमुक्त बनाउनुपर्छ । त्यसका लागि मैले हस्ताक्षर गरेर हुने भए अहिले यहीँ नै हस्ताक्षर गर्न तयार छु ।’ रबिले भने ।
महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर न्याय माग्दै मिटरब्याज पीडितहरु काठमाडौं आएका हुन् । सोमबारमात्र काठमाडौं आइपुगेका उनीहरु खुलामञ्चभित्र प्रवेश गरेर बस्न खोज्दा काठमाडौं महानगरपालिकाले रोकेको थियो । रातभर खुला सडकमा रात बिताएका उनीहरु आज बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्न भन्दै अगाडि बढेका थिए । तर निषेधित क्षेत्रतर्फ प्रवेश गर्न नपाइने भन्दै प्रहरीले टंगालमै उनीहरुलाई रोकेको छ ।
आजै आफूले अर्को कामको सिलसिलामा प्रधानमन्त्रीसँग भेट गर्ने तयारी गरेको उल्लेख गर्दै रबिले आफ्नो भन्दा पनि तपाईँहरूको कुरा पहिले राख्छु भन्दै पीडितलाई ढाडस दिएका थिए ।
तपाइँको प्रतिक्रिया