मोर्चाद्धारा फेरी अनिश्चितकालीन बन्द आव्हान, मोटरसाईकल र पर्यटक बस समेत चल्न नदिने ।

राधेश्याम विश्वकर्मा,भैरहवा, ३ मंसिर । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा रुपन्देहीले मंसिर ४ गते देखी फेरी अनिश्चितकालीन बन्दको घोषणा गरेको छ । बन्दको क्रममा मोटरसाईकल र पर्यटक बस समेत चल्न नदिने मोर्चाले जनाएको छ ।भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै मोर्चाको संयोजक महेन्द्र यादवले बन्द अवधि भर भैरहवा–लुम्बिनी सडक खण्ड अन्र्तगत मोटर साइकल र पर्यटक बस समेत गुड्न नदिने चेतावनी दिएको हो । मधेशी दलहरुसित भएको २२ बुंदे र ८ बुंदे सहमति भए अनुसार संविधान नबनेको भन्दै १ सय दिन देखी आन्दोलनरत रहेको छ । तिहार र छठ पर्वको लागी भन्दै केही दिनलाई बन्द खुकुलो पारे पनि अबको दिनमा बन्द कडा र हिंसात्मक हुने संकेत देखिएको छ ।पत्रकार सम्मेलनमा बोल्दै नेता यादवले अनिश्चितकालको लागी रुपन्देहीका सम्पूर्ण शैक्षिक संस्था, कल कारखाना, उद्योग, यातायात बन्द गर्न भनेको छ । उनले कृषि कायको लागी प्रयोग हुने यातायातलाई अवरोध नगर्ने जनाए । उनले अबको दिन भन्सार, राजमार्ग र पेट्रोलियम पदार्थको तस्करी रोक्नमा केन्द्रित हुने जनाए ।सोही कार्यक्रममा बोल्दै मोर्चाको अर्को घटक सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष ओम प्रकाश यादव (गुल्जारीले)ले अबको दिन भैरहवालाई ठप्प पार्ने बताए । भैरहवामा आन्दोलनको प्रभाव नपरेको भन्ने आवाज उठिरहेको समयमा उनले भैरहवा आन्दोलनको केन्द्रमा रहने बताए । आन्दोलनलाई निस्तेज पार्न प्रशासनले निषेद्याज्ञा जारी गरेकोले निषेधित क्षेत्र तोड्ने सम्मको कार्यक्रम रहेको नेता गुल्जारीको भनाई छ । उनले मोटरसाईकलमा कालोझण्डा लगाएर हिड्नेलाई अवरोध नगर्ने बताए ।कार्यक्रममा तमलोपाका अजय वर्मा, रामसपा का उमाशंकर यादव, सन्तोष पाण्डे, सरोजकुमार पाण्डे। बिद्या यादव लगायतका नेताहरु उपस्थित थिए ।
तपाइँको प्रतिक्रिया