मौलाकाली सामुदायिक वनले उत्पादनमुखी क्षेत्रमा लगानी गरोस् – उपप्रमुख कंडेल

विन्दु वाग्ले, गैंडाकोट, १२ मंसिर ।
मौलाकाली सामुदायिक वन समुहको १९ औं साधारण सभा सम्पन्न भएको छ । समुहको कार्यालय परिसरमा आइतबार सभा सम्पन्न भएको हो । सो अवसरमा बोल्दै गैँडाकोट नगरपालिका उपप्रमुख विष्णुकुमारी कंडेलले सामुदायिक वनलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । उहाँले वनले उत्पादनमुखी क्षेत्रमा लगानी गरेर आफ्ना उपभोक्ताको आयस्तर वृद्धी गर्ने खालका कार्यक्रम गर्न आग्रह गर्नुभएको हो । उहाँले गैँडाकोट नगरपालिकालाई समृद्ध बनाउन सबै संघसंस्थाहरु एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । नगरपालिकालाई समृद्ध बनाउनका लागि शिक्षा, स्वास्थ्य र रोजगार जस्ता विषयलाई मौलाकालिका सामुदायिक वनले विशेष प्राथमिकता दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा मौलाकाली सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटाले उजाड हुँदै गएको वनलाई हरियाली वनको रुपमा विकास परिणत गरि वन विकाशका कार्यहरु अगाडी बढ्दै गइरहेको जानकारी गराउनुभएको थियो । यस्तै सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटाले स्थानिय वन नीति अत्यान्तै आवश्यक भएकोले स्थानिय वन नीति बनाउनु पर्नेमा जोड दिनुभयो । साथै मौलाकाली वन समूहले आर्थिक पारदर्शिता अवलम्बन गरेको पाइएकोले कसैले यतातीर शंका नगर्न आग्रह गर्नुभयो ।
सभामा समुहका कोषाध्यक्ष कमलप्रसाद कँडेलले आर्थिक वर्ष ७७÷७८ को आर्थिक प्रतिवेदन एवं आर्थिक वर्ष २०७८/७९ को प्रस्तावित आय ब्ययको विवरण प्रस्तुत गर्नुभएको थियो । जसमा आर्थिक वर्ष २०७७/७८ को कुल आम्दानी ६४ लाख ५७ हजार ९ सय ५४ रहेको छ भने कुल जम्मा खर्च ५७ लाख ९९ हजार १ सय २२ रुपैयाँ रहेको छ । यसैगरी उहाँले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा आर्र्थिक वर्ष २०७८/७९ का लागि अनुमानित कुल आम्दानी रु १ करोड ३९ लाख ७० हजार पुर्याउने उल्लेख छ ।
यस्तै सचिव देवकी मिश्रले आर्थिक वर्ष २०७७/७८ को प्रगती विवरण एवं २०७८/७९ को लागि प्रस्तावित नीति तथा कार्यक्रमको प्रतिवेदन, संयोजक शशीचन्द्र सिग्देलले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन र संयोजक वेदप्रसाद गौडेलले अनुगमन तथा मुल्यांकन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा पुर्व अध्यक्ष एवं संयोजक शालिकराम सापकोटा, निवर्तमान अध्यक्ष काशीनाथ कंडेल, गैडाकोट वडा नम्वर २ का वडाध्यक्ष धुर्वराम पौडेल, गैँडाकोट वडा नम्वर १ का वडाध्यक्ष हरिप्रसाद सापकोटा, नेकपा एमाले गैँडाकोट नगर कमिटिका प्रतिनिधी ऋषिराम भट्टराई, जनता समाजवादी पार्टी गैँडाकोट नगर कमिटि अध्यक्ष टेक बहादुर गुरुङ, राष्ट्रिय जनमोर्चा पार्टी गैँडाकोट नगर कमिटि अध्यक्ष कृष्ण सापकोटा, नेपाली कांग्रेस गैँडाकोट नगर कमिटि अध्यक्ष वद्री सापकोटा लगायतले मौलाकाली वन आयमुलक तथा सेवामुलक संस्था भएको हुनाले यसको संरक्षण र प्रर्वधनमा सबै एकजुट हुनुपर्ने बताउनुभएको थियो ।
समुहका अध्यक्ष हरिप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य समुहका उपाध्यक्ष भगवान घिमिरेले र कार्यक्रमको संचालन समुहका कोषाध्यक्ष कमल प्रसाद कंडेललेले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया