म्यानमारको एक विद्यालयमा गोली लागि मृत्यु हुने बालबालिकाको संख्या १३ पुग्यो

काठमाडौं, असोज ५
म्यानमारको एक विद्यालयमा गोली लागि मृत्यु हुने बालबालिकाको संख्या १३ पुगेको छ । सेनाको हेलिकप्टरबाट गोली चलाउँदा विद्यालयका बालबालिकाको मृत्यु भएको हो । केही बालबालिकाको सेनाको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो भने आक्रमणमा घाइते बनेका केही बालबालिकाको उपचारका क्रममा मृत्युभएको जनाईएको छ । सामाजिक सञ्जालमा बिद्यालय भवनमा गोलीका खोकाहरु रहेको तस्विरहरु अहिले भाईरल भैरहेको छ ।
प्राप्त विवरणहरू अनुसार सेनाले मध्य सागिङ क्षेत्रको लेट यट कोन गाउँमा रहेको विद्यालयमा गोली चलाएको बताईएको छ । गाउँको बौद्ध विहारमा रहेको विद्यालयमा सेनाको हेलिकप्टरले गोली प्रहार गरेको जनाइएको छ ।
आफूमाथि आक्रमण गर्न विद्रोहीहरूले भवन प्रयोग गरेकाले प्रतिकारमा गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ ।
गत वर्षको सुरुमा सेनाले निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यानमार हिंसामा फसेको छ । सैन्य सरकारको विरोधमा विपक्षीले देशव्यापी गतिविधि सञ्चालन गर्दै आएका छन् भने आन्दोलनका गतिविधि दबाउन सेनाले घातक बल प्रयोग गरिरहेको छ ।
तपाइँको प्रतिक्रिया