यो दशैंमा भारतीय खसीबोकाको आयात नहुने

भाद्र २७
यो दसैंमा भारतीय खसीबोकाको आयात नहुने भएको छ । गत वर्षको दशैंमा काठमाडौंमा कुल मागको ७० प्रतिशत भारतीय खसी–बोकाले धानेको थियो तर यो पटक स्वदेशी खसीबोकाले मात्रै माग धान्ने भएको हो । सरकारले मासु जाँच ऐन, २०५५ र नियामावली २०५६ लाई कडाइका साथ कार्यान्वयन गर्दा भारतबाट खसी–बोका आयात हुन सकेको छैन । गत पुसदेखि सरकारले आयातित खसी–बोकाको लागि पशु स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरेको छ।
भन्सार विभागको तथ्याङ्क हेर्दा भदौ २५ सम्म खसी–बोका आयात भएको छैन । गत गर्षको भदौ मा १ लाखभन्दा बढी खसी–बोका भारतबाट आयात भएको विभागको तथ्याङ्कले देखाउँछ ।
पशु जाँचमा कडाइ गर्दा दसैंमा खसी–बोका अपुग हुने भन्दै व्यवसायीले सरकारलाई खुलारूपमा आयात गर्न दिन आग्रह गर्दै आएका छन् तर कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको एक सर्वेक्षणले भने दशैंमा खसी–बोकाको कमी नहुने जनाएको छ । ‘वार्षिकरूपमा खसीबोका देशभरका लागि ११ र १२ प्रतिशतले मात्र कमी हो’, मन्त्रालयका सहप्रवक्ता प्रदीप भट्टराईले भने ‘बाँकी नेपालकै उत्पादनले पुगेको छ ।’ विगतलाई आधार मान्दा दशैंका बेला काठमाडौंमा ४० देखि ५० हजार खसी–बोकाको माग रहन्छ । त्यो संख्याको खसी–बोका गाउँगाउँबाट नै सङ्कलन गरेर ल्याउने योजना बनाइएको मन्त्रायका सह प्रवक्ता प्रदिप भट्टराईले जानकारी दिनु भयो ।
तपाइँको प्रतिक्रिया