रत्ननगर महोत्सवको तयारी तिव्र, ६० प्रतिशत काम सकियो

चितवन, ८ पुष ।
पूर्वीचितवनको टिकौलीचौरमा आयोजना हुने ११औँ संस्करणको रत्ननगर महोत्सव २०७८ को तयारी तीव्र पारिएको छ । आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघले बिहीबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको ६० प्रतिशत काम सकिएको जानकारी गराएको छ । महोत्सवको आन्तरिक व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको र प्रचार प्रसार, स्टल निर्माण लगायतका अन्य कामहरु ६० प्रतिशत सकिएको संघका अध्यक्ष तथा मूल व्यवस्थापन समितिका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । यही पुस २७ गते देखि माघ ८ गतेसम्म महोत्सवको ११औंँ संस्करण हुँदैछ । यस पटकको महोत्सवको मुख्य आर्कषण जीप साइकलिङ र राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
भलिबलमा सात वटा प्रदेशको टिम र तीन वटा विभागीय टिम सहभागी हुने श्रेष्ठको भनाइ छ । यस पटकको महोत्सवमा ‘वृहत् रत्ननगर, हाम्रो रत्ननगर’को अवधारण अगाडि बढाइएको उहाँले बताउनुभयो । प्रत्येक दुई वर्षमा आयोजना हुने रत्ननगर महोत्सवले समग्र जिल्लाको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई महोत्सवमा जोड दिइएको छ । कोरोना महामारीको कारण सिर्जित आर्थिक, सामाजिक प्रतिकुलता र विषम परिस्थितिका बीच नेपाली अर्थतन्त्रको वृद्धि र पुनरोत्थानको राष्ट्रिय एजेन्डा कार्यन्वयनमा महोत्सवले सघाउने अपेक्षा गरिएको छ । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरी करिब ३५० स्टलहरु रहने छन् ।
महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब १५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा र अनुमान गरिएको संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरीले जानकारी दिनुभयो । कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि महोत्सवमा व्यवसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिंचाई प्रविधि, केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसंगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइएको छ ।
महोत्सव अन्र्तगत पुस २९ देखि माघ ३ गतेसम्म रत्ननगरको टाँडी बजारमा विभिन्न जनजातिहरुको विशेष खाना, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि मासुका विशेष परिकार सहित चौथो पटक चिकेन एण्ड एग फुड फेष्टिबल आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडीले कोरोनाले थलिएको चितवनको अर्थतन्त्रलाई रत्ननगर महोत्सवले माथी उठाउने विश्वास व्यक्त गर्नुभयो ।
तपाइँको प्रतिक्रिया