राइड सेयरिङ एप सवारीले सोमबार नारायणगढमा पत्रकार सम्मेलन गर्दै आफ्नो सेवा चितवनमा सुरु

चितवन, भाद्र २७
राइड सेयरिङ एप सवारीले सोमबार नारायणगढमा पत्रकार सम्मेलन गर्दै आफ्नो सेवा चितवनमा सुरु भएको जानकारी गराएको छ । सवारी चालकले आफूलाई सवारीमा दर्ता गर्न र सेवाग्राहीले सेवा लिन सवारी एप मोबाइलमा डाउनलोड गर्नुपर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेरबहादुर साहले बताए । ‘काठमाडौँ, पोखरा, बुटवल र भैरहवापछि चितवनमा सेवा सुरु गरेका छौँ’ उनले भने ।
सन् २०१६ मा टुटल राजधानी काठमाडौँमा आउँदा यस्तो व्यवसाय पनि हुन्छ भन्ने धेरैलाई जानकारी नै थिएन । मोबाइल एपमार्फत दुईपांग्रे सवारीसाधन बोलाउन सकिन्छ र त्यसले गन्तव्यमा पु¥याइदिनेछ भन्ने बुझाउन टुटललाई लामै समय लाग्यो । टुटलले राजधानी काठमाडौँमा लोकप्रियता पाएको यो व्यवसाय अहिले देशका अन्य शहरमा अरु नै नामले संचालनमा आएको छ ।
सवारीले कम्पनी दर्ता गरेर सेवा सुरु गरेको यसका सहसंस्थापक रोहित यादव बताउँछन् । ‘नेपालमा अझै पनि राइड सेयरिङबारे कानुन बनिसकेको छैन’ उनले भने, ‘हामीले कम्पनी ऐन अन्तर्गत कम्पनी दर्ता गरेर सवारी सुरु गरेका हौँ । यातायात व्यवस्था विभागबाट पनि अनुमति लिएका छौँ ।’ सवारीबारे स्थानीय तहका सरकारी कार्यालयमा जानकारी गराइएको उनले बताए ।
सवारीका चितवन शाखा प्रबन्धक विपीन काफ्लेले चितवनमा भर्खरैमात्र सेवा सुरु गरिएको जानकारी दिए । उनका अनुसार मोबाइलमा एप डाउनलोड गरेपछि सेवाको लागि ट्याक्सी, अटो वा मोटरसाइकल छनौट गरी आफू कहाँदेखि कहाँसम्म जाने हो ? उल्लेख गरेपछि भाडा कति लाग्छ ? भन्ने जानकारी मोबाइलमै आउँछ । सवारीले प्रतिकिलोमिटर भाडादर मोटरसाइकलको २०, अटोरिक्साको ४५ र ट्याक्सीको ५५ रुपैयाँ निर्धारण गरेको उनले बताए ।
तपाइँको प्रतिक्रिया