रातो मच्छिन्द्रनाथको रथ जात्राअन्तर्गत शनिबार बिहान महिलाले मात्र रथ तानी जात्रा सम्पन्न

रातो मच्छिन्द्रनाथको रथ जात्राअन्तर्गत शनिबार बिहान महिलाले मात्र रथ तानी जात्रा सम्पन्न गरेका छन् ।
कुनै समयमा रथ जात्रा गरिरहँदा ललितपुरको लगनखेल पाढेटोलको एक एकल महिला बिरामी भई रथ जात्रामा सहभागी हुन नसकेकाले एकल महिलालाई पनि जात्रामा सहभागी गराउनु पर्छ भनी धार्मिक मान्यताअनुसार आज एक दिन महिलाले मात्र रथ तानी जात्रा सम्पन्न गरेका हुन् । हरेक दिन रथबाट नरिवल खसालेको भोलिपल्ट बिहान महिलाले मात्र रथ जात्रा सम्पन्न गर्ने परम्परा रहिआएको छ ।
अन्य दिन जात्रा साँझको समयमा हुने गर्दथ्यो भने आज महिलाले मात्र रथ तान्ने भएकाले बिहान ५ बजेदेखि जात्रा सुरु गरी ६ बज्दा सम्पन्न भइसकेको थियो ।
आज अन्य दिनको भन्दा कम बाटो करिब १०० मिटर पाढेटोलदेखि ठटिटोलसम्म महिलाले रथ तानेका हुन् ।
गत वैशाख ६ गते देवतालाई रथारोहण गरी ९ गतेदेखि सुरु गरेको रथ जात्रा १२ गतेको भूकम्पका कारण स्थगित भई गत ५ गतेदेखि सुरु भएको हो ।
वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको यस वर्ष १२ वर्षको मेला परेकाले मानिसले यस जात्रालाई महत्वको साथ लिने गरेका छन् ।
तपाइँको प्रतिक्रिया