राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिँदै

काठमाडौं, वैशाख ६
राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगिँदै छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई श्री एयरलाइन्स मार्फत् नयाँदिल्ली लैजान लागिएको हो । छातीमा संक्रमण भएपछि बिरामी परेका राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्समार्फत् अहिले केही बेरमा भारत लैजान लागिएको उनका निजी सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए ।
उनका अनुसार राष्ट्रपति पौडेललाई नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट आफ मेडिकल साइन्सेस (एम्स)मा लगिनेछ । उनका साथमा चिकित्सकसहित श्रीमती, छोरालगायतको टोली जाने अधिकारीले बताउनुभयो । राष्ट्रपति पौडेलको स्वास्थ्यमा एकसातादेखि समस्या देखिएको हो ।
गत साता उनी त्रिवि शिक्षण अस्पतालमा तीन दिन भर्ना भएर उपचार गराएका थिए । सोमबार ‘फलोअप’का लागि गएका पौडेलको छातीमा जमेको पानी निकालेर परीक्षण गर्दा संक्रमण भएको पाइएको थियो ।
मंगलबार फेरि असहज भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। उनी अहिले अस्पतालमै छन् । उनको स्वास्थ्य सामान्य रहेको निजी सचिव अधिकारीले बताए। अस्पतालका चिकित्सककै सल्लाहमै राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजान लागिएको उनको सचिवालयले जनाएको छ ।
तपाइँको प्रतिक्रिया