राष्ट्रपति हुने खनालको चाहाना के पुरा होला ? राष्ट्रपतिदेखि सभामुखसम्मका पद पनि बाँड्न प्रस्ताव

साउन २५, काठमाडौं
नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले संघीय संसद् र प्रदेशसभाको सिट मात्र नभई निर्वाचनपछि गठन हुने सरकार, राष्ट्रपति, संघीय संसद्को सभामुख लगायतका पद अहिले नै बाँडफाँड गरेर जानुपर्ने प्रस्ताव अघि सारेको छ । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यस्तो प्रस्ताव गरेका हुन् ।
सत्तारुढ पाँचदलीय गठबन्धनभित्र संघीय संसद्को निर्वाचनपछि राष्ट्रपतिदेखि सभामुखसम्मका तहगत पद बाँडफाँट गरेर जानुपर्ने प्रस्ताव अघि सारिएको हो ।
नेता खनालले २०७४ सालको निर्वाचन र गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरूलाई प्राप्त मत र परिणामका आधारमा सिट बाँडफाँट गरी अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन् । ‘प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिट वितरण प्रमुख विषय हो तर त्यसपछि हुने सरकार गठन, राष्ट्रपति निर्वाचन, सभामुख चयनजस्ता प्रमुख विषयलाई पनि अहिले नै टुंग्याएर जानुपर्छ’, खनाललाई उद्धृत गर्दै स्रोतले भन्यो । माओवादी केन्द्रले यस्तो प्रस्ताव राख्नुअगावै खनालले प्रधानमन्त्रीलाई भेटेर प्रस्ताव गरेका हुन् ।
स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्र मिलेर नेकपा एसलाई अपेक्षित सहयोग नगरेको बताउँदै आएका नेता खनालले स्पष्ट रूपमा निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी बनाउनुपर्ने र त्यसमा निर्वाचनपछिका प्रमुख पद पनि बाँडफाँट हुनुपर्ने प्रस्ताव गरेका छन्। खासगरी माओवादीले राष्ट्रपति र सभामुख ताकेर सरकार नेतृत्व आधा–आधा कार्यकाल गर्नुपर्ने भन्दै प्रधानमन्त्रीमा समेत बार्गेनिङ गरेका बेला खनालले राखेको यस्तो प्रस्तावबाट नेकपा एसले पनि राष्ट्रपतिको दाबी गर्न खोजेको देखिन्छ। खनाल स्वयं यसअघि राष्ट्रपतिको आकांक्षी थिए । नागरिक दैनिकमा खबर छ ।
तपाइँको प्रतिक्रिया