राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर युवराज खतिवडा नियुक्त

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर युवराज खतिवडालाई नियुक्त गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले खतिवडालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्नी खरेलले जानकारी दिनुभयो । खतिवडाले यसअघि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र नेपाल राष्ट्र बैंकको गभर्नर पदसमेत सम्हालीसक्नु भएको छ । बैठकले मङ्गलबार रसुवाको राम्चेमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । घटनामा परी करिब ३६ जनाको मृत्यु भएको थियो भने ४५ जना गम्भीर घाइते भएका थिए । उहाँका अनुसार बैठकले घाइते भएकाहरुको उपचारको उचित प्रबन्ध मिलाउन सम्बिन्धित निकायलाई निर्देशनसमेत दिएको छ । घाइतेको काठमाडाँै र नुवाकोटका अस्पतालहरुमा उपचार भइरहेको छ । त्यसैगरी तराईमा जारी आन्दोलनमा परी मृत्यु भएका प्रहरी सहायक निरीक्षक थमन विक, प्रहरी हवल्दार देवबहादुर पाण्डे र सशस्त्र प्रहरी हवल्दार काशीराज कामीका परिवारलाई जनही रु १० लाख आर्थिक सहायता दिने निर्णय गरेको छ । विसं २०७२ भदौ १८ गते बर्दियाको मैनापोखरीमा कर्तव्य पालनका क्रममा आन्दोलकारीको आक्रमण परी मृत्यु भएका प्रहरी हवल्दार पाण्डेको मृत्यु भएको थियो । बैठकले नेपाल गुणस्तर परिषद्को पुनर्गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी अस्ट्रेलियाको भियनामा नोभेम्बर ३० देखि डिसेम्बर ४ तारिखसम्म हुने संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास सङ्गठन(युनिडो) सम्मेलनको १६औँ सत्रमा उद्योग मन्त्री सोमप्रसाद पाण्डेलाई सहभागी हुन स्वीकृत गरेको छ ।संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गतको आरोहण सलामी दस्तुर तथा फोहोरमैला व्यवस्थापन धरौटी मिनाहा गर्ने प्रस्तावलाई स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया