सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

लायन्सकाे बदमासी : प्रसूति गृह बनाउन सरकारबाट जग्गा लिएर निजीसँग सहकार्य, अहिले नर्सिङ कलेज चलाइयाे

  •  | २३ पुष २०७८, शुक्रबार १०:५४ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • चितवन, २३ पुस ।

    २१ वर्षअगाडि नै भरतपुर अस्पतालमा प्रसूति गराउनेको चापलाई मध्येनगर गर्दै भरतपुरमा एउटा प्रसुति गृहको आवश्यकता महसुस गरियाे । र, सुरक्षित र सर्वसुलभ प्रसूति सेवाको अभावमा कुनै पनि आमा र बच्चाले ज्यान गुमाउन नपरोस् भनि लायन्स क्लब अफ नारायणगढ चितवनले प्रसूति गृहको अवधारणा ल्यायो ।

    सामाजिक संस्थाको रुपमा रहेको क्लबले लायन्स प्रसूति गृह निर्माणका लागि तत्कालीन भरतपुर नगरपालिकासँग जग्गा पनि माग गर्‍याे  । तत्कालीन मेयर हेमबहादुर पियाले नगरको बोर्ड बैठकबाट निर्णय गराई क्लबलाई दुई पटकमा गरी नगरवनको डेढ बिघा जग्गा दिए । क्लबलाई जग्गा दिएको २१ वर्ष पुगिसक्दा पनि प्रसूति गृह भने बन्न सकेको छैन ।

    बरु प्रसूति गृह बनाउन महानगरले दिएको जग्गामा बालकुमारी कलेजले भवन बनाएर नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    तत्कालीन नगरपालिका महानगरपालिका बनेर जनप्रतिनिधि निर्वाचित भएर आएको पाँच वर्ष पुग्न लाग्दा पनि यस विषयमा कुनै कदम चालिएको छैन । लामो समयसम्म महानगरले दिएको जग्गामा प्रसूति गृह निर्माण नभएपछि गत वर्ष महानगरका कानुन अधिकृत खगेश्वर अधिकारीले क्लबलाई पत्राचार गरी प्रसूति गृह निर्माणमा भएको ढिलाईबारे स्पष्टिकरण सोधेका थिए ।

    छानविन समितिले निर्णय गर्न सकेन

    क्लबले आफूहरुबाट कमजोरी भएको र छिट्टै नै प्रसूति गृह बनाउने प्रतिबद्धता जनाएको थियो । त्यसपछि प्रसूति गृह निर्माणका लागि दिएको जग्गाको छानविन गर्न भन्दै महानगर-१० का अध्यक्ष एवम् महानगर प्रवक्ता अरुणपीडित भण्डारीको संयोजकत्वमा छानविन समिति बनायो । छानविन समितिले कुनै निर्णय नै गर्न सकेन ।

    छानविन समितिको सदस्यमा वडा नं १ का अध्यक्ष जयराम श्रेष्ठ, वडा नं ३ का अध्यक्ष चन्द्रमित्र पण्डित र नगर कार्यपालिका सदस्य चक्र रुचाल थिए । समितिको सदस्य सचिवमा कानुन अधिकृत खगेश्वर अधिकारी थिए । प्रसूति गृह निर्माण नभए जग्गा फिर्ता लिने सम्बन्धमा सबै सदस्य एकमत नभएपछि समितिले कुनै निर्णय नै गर्न नसकेको एक सदस्यले बताए ।

    ‘जग्गा फिर्ता लिनुपर्ने कुरामा समितिका संयोजक भण्डारी सहमत थिए । तर अन्य सदस्य सहमत भएनन्,’ एक सदस्यले भने, ‘सबैको एउटै कुरा नआएपछि निर्णय लेख्ने काम भएन ।’ महत्वपूर्ण विषयमा छानविन समितिले नै निर्णय लिन नसकेपछि जग्गाको विषय अन्योल बनेको छ ।

    ‘प्रसूति गृह बनाउने भनेर कलेज चलाउनुभयो । त्यसमा हाम्रो आपत्ति छ । प्रसूति गृह बनाउने भए हामी अहिले पनि सहमत छौँ । यदि प्रसूति गृह नबनाउने हो भने हामी जग्गा दिँदैनौँ,’ भण्डारीले भने । कानुन अधिकृत अधिकारीले राजीनामा दिएपछि त्यो विषय अन्योल बनेको उनको भनाइ छ ।

    सार्वजनिक संघसंस्थाले सार्वजनिक जग्गामा कुनै पनि संरचना निर्माण गर्ने र भाडामा लगाउने वा त्यसबाट आर्थिक लाभ लिन नपाउने भनेर महानगरले दुई वर्षअघि निर्णय गरिसकेको उनले बताए । निस्वार्थ रुपमा प्रसूति गृह निर्माण गर्ने भनिएकाले त्यतिबेला क्लबलाई जग्गा दिइएको उनको भनाइ छ ।

    प्रसूति गृह बनाउन महानगरले दिएको जग्गामा बालकुमारी कलेजले भवन बनाएर नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ । भवनको नक्सापास समेत भएको छैन । कलेजको आफ्नै अस्पताल नभएपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी)ले यसवर्षदेखि पिसिएल नर्सिङमा भर्ना अनुमतिसमेत दिएन ।

    प्रसूति गृह बन्न नसक्दा भरतपुर अस्पतालमा सुत्केरी भुईँमा सुतेर उपचार गराउन बाध्य छन् । दिनमा ३० जनासम्म सुत्केरीको व्यवस्थापन र उपचार गर्न सक्ने भरतपुर अस्पतालको क्षमता हो । तर, अस्पतालले दिनमा ४० देखि ५० जनासम्म सुत्केरीको उपचार गर्दै आएको छ । पर्याप्त बेड नहुँदा अस्पतालको चिसो भुईमा म्याट बिच्छ्याएर सुत्केरी सुत्न बाध्य छन् ।

    क्लबले यसरी पाएको थियो जग्गा

    लायन्स प्रसूति गृह निर्माणको लागि लायन्स क्लब अफ नारायणगढ चित्रवनले तत्कालीन भरतपुर नगरपालिकासँग जग्गा माग गरेको थियो । नगरपालिकाको २२ साउ २०५७ को बोर्ड बैठकले क्लबलाई प्रसूति गृह बनाउन नगरवनको १० कठ्ठा जग्गा दिने निर्णय गरेको हो ।

    १० कठ्ठाले नपुग्ने भएपछि क्लबले नगरपालिकासँग फेरि थप जग्गा माग्यो । नगरपालिकाको २४ जेठ २०५९ को बोर्ड बैठकले क्लबलाई नगरकै थप एक बिघा जग्गा दिने निर्णय गरेको हो । त्यतिबेला नगरको प्रमुख हेमबहादुर पिया थिए भने लायन्स क्लब अफ नारायणगढ चित्रवनको अध्यक्ष युसुफुद्धिन पाल्पाली थिए ।

    क्लबले जग्गाको भोगाधिकार पाइसकेपछि लायन्सका विभिन्न क्लबहरुले प्रसुति गृह निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए । लायन्स क्लब अफ नारायणगढ चित्रवनले दुई करोड एक लाख ५० हजार रुपैयाँमा इमर्जेन्सी र उपकरण राख्ने कोठासहित ३२ कोठाको प्रसूति गृह निर्माण र उपकरण खरिद गर्नेगरी इस्टिमेट तयार गरेको थियो ।

    प्रसूति गृहमा प्रतिमहिना २५ सय जनाले प्रसूति सेवा लिन सक्ने भनिएको थियो । तर क्लब एक्लैले प्रसुति गृह बनाउने आँट नगरेपछि नगरपालिकाबाट अनुमति नै नलिई बालकुमारी कलेजसँग सहकार्यको सम्झौता गर्‍याे । कलेजले आफै भवन बनाएर नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    अनुमति विना नर्सिङ भवन निर्माण

    भरतपुर महानगरपालिकाको अनुमति विना बालकुमारी कलेजले नर्सिङ पढाउनका लागि भवन बनाएको हो । भवनको अझैसम्म पनि नक्सापास नभएको बालकुमारी कलेज सञ्चालक समितिका अध्यक्ष जगन्नाथ पौडेलले स्वीकार गरे ।

    कलेजले भवन निर्माण गरेर विंस. २०५८ सालदेखि नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आएको हो । भवन निर्माण गर्दा चार करोडभन्दा बढी खर्च भएको उनले बताए । नर्सिङ कार्यक्रमको लागि भर्ना अनुमति नपाएपछि कलेजले अब त्यहि भवनमा हेल्थ असिस्टेन्ट (एचए) सञ्चालन गर्ने तयारी गरेको छ ।

    ‘भवन हाम्रै पैसाले बनाएको हो । त्यसमा केही प्राविधिक कुरा मिलेको छैन । कलेज पनि सार्वजनिक संस्था हो । मुनाफारहित संस्था हो । यसले अरु कलेजभन्दा कम पैसामा पढाउँछ । यसको भोगाधिकारको विषयमा कतै विवाद छैन । नगरपालिका पनि सकारात्मक नै छ,’ उनले भने ।

    लायन्स क्लबसँगको सहकार्यमा १५ बेडको प्रसुति गृह सञ्चालनका लागि छलफल भइरहेको उनी बताउँछन् । त्यसको स्वीकृतिका लागि सरकारलाई पनि आग्रह गरिएको उनले बताए ।

    ‘प्रसूति गृह बनाउन लायन्स क्लबले हामी पनि अन्तर्राष्ट्रिय स्तरमा पैसा जुटाउँछौँ । तपाईँहरु पनि गर्नुस् भन्ने एउटा सहमति भएको हो । त्यो चाँहि वर्षाैँ वित्यो, म आएको बल्ल चार वर्ष भयो,’ उनले भने, ‘भवन बनाउँदा चाँहि अलिकति ढंग पुगेको छैन । यसअघि चिरञ्जिवी श्रेष्ठले विश्वविद्यालय अनुदान आयोगबाट ल्याएको पैसा त्यहाँ खर्च गरेको हो । अब त्यहाँ चाँहि नक्सा पास पनि नगरिकन खर्च गरेको हुनाले त्यसमा अलिकति विवाद छ ।’

    पिसिएल नर्सिङको कार्यक्रममा अहिले पनि १२० जना विद्यार्थी अध्ययरत छन् । तीन वर्षे यस कार्यक्रमका लागि एउटा विद्यार्थीबाट कलेजले चार लाख ६० हजार रुपैयाँ लिने गरेको छ ।

    लायन्स प्रसूति गृह बन्नुपर्छ : लायन्स गभर्नर

    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बीटुका डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले भरतपुर महानगरले दिएको जग्गामा लायन्स प्रसूति गृह नै बन्नुपर्ने बताउँछन् । प्रसूति गृह र आवश्यक उपकरणको सम्बन्धमा डिष्ट्रिक्टले सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

    ‘पैसाको समस्या हुँदैन । दानवीरहरु हुनुहुन्छ । एउटा सेवा गर्ने भनेपछि पैसा जुटाउन सकिन्छ । प्रसूति गृह निर्माणको लागि हामी तयार छौँ । सकारात्मक काम गर्ने भनेर एजेण्डा ल्याउँदा पैसा गज्जबसँग उठ्छ,’ उनले भने । यस विषयमा नेतृत्वले एउटा निर्णय गरेर अघि बढ्ने बताए ।

    अस्पतालको लागि सरकारी स्वीकृति लिन नसकिँदा प्रसूति गृह निर्माणमा ढिलाई भएको लायन्स क्लब अफ नारायणगढ चित्रवनका अध्यक्ष केशवप्रसाद लामिछानेले बताए । स्वीकृतिका लागि आफू अध्यक्ष भइसकेपछि प्रकृया थालेको उनले बताए ।

    ‘प्रसूति गृहको स्वीकृति लिनुपर्नेलगायतका विविध कारणले गर्दा काम गर्न सकिएन । हामीले सुरुमा १५ बेडबाट सुरु गरेर सय बेडको प्रसुति गृह बनाउने योजना बनाएका थियौँ’, उनले भने, ‘म अध्यक्ष भइसकेपछि प्रसुति गृहको लागि कागजपत्र तयार गर्ने र त्यहि अनुसार प्रदेशको स्वास्थ्य निर्देशनालय हेटौंडा र स्वास्थ्य विभागमा समेत अवलोकनका लागि परिपत्र गरिएको छ ।’

    लायन्स इन्टरनेशनलसँग समन्वय गरेर १५ बेडबाट अस्पताल सुरु गर्ने तयारी रहेको उनले बताए । कलेजले नक्सापास नै नगरि बनाएको भवनमा अस्पताल बनाउने क्लबको योजना छ । प्रसुति गृह निर्माण गर्न लगानीको समस्या भएपछि शैक्षिक कार्यक्रमसँगै अस्पताल सञ्चालन गर्ने उद्देश्यले कलेजसँग हातेमालो गरिएको उनले बताए ।

    ‘बालकुमारी कलेजले पनि हामीले थालेको लायन्स प्रसुति गृह बनाउने अभियानमा साथ दिन्छ भन्ने विश्वास छ । बालकुमारी कलेज अघि बढ्दैन भने पनि हामी एक्लै अघि बढेर भएपनि लायन्स क्लबले प्रसुति गृह निर्माण गरेरै छाड्छौँ’, उनले भने ।

    भवन निर्माणमा विभिन्न क्लबहरुले लगानी गर्ने बताएका थिए । अस्पतालको स्वीकृति लिन नसक्दा डिष्ट्रिक्टको पैसासमेत फिर्ता भएको उनले बताए । नारायणगढ पुलचोकबाट दक्षिणतर्फ नगरवनको छेउमा उक्त जग्गा छ । कलेजले बनाएको भवनको एउटा कोठामा चित्रवनको कार्यालय पनि छ ।

    लायन्स क्लब अफ नारायणगढ चित्रवनको (सन् २००७/८)का अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बालकुमारी कलेजका कारण प्रसुति गृहको काम अघि बढाउन नसकिएको आरोप लगाए ।

    ‘हामीले उहाँहरुलाई जबरजस्ती गर्न पनि गाह्रो । हामी पनि सामाजिक संस्था भयौँ । हाम्रो मुख्य समस्या त्यहाँनेर हो’, उनले भने, ‘लायन्स प्रसुति गृह भनेर राख्ने र त्यसको सञ्चालन चाँहि बालकुमारीले गर्ने भन्ने उद्देश्य थियो । लायन्सले इन्टरनेशनलबाट फण्ड ल्याउने । त्यतिबेला ७५ हजार डलर पास भएको थियो । अरु बालकुमारीले लगाउने भन्ने थियो ।’

    अब लायन्स क्लब चित्रवन नै अघि सरेर आफ्नै नेतृत्वमा हस्पिटल बनाउनुपर्ने उनले बताए । आवश्यक परेर कलेजसँगको सम्झौता रद्द गरेर भएपनि क्लब अघि बढ्नुपर्ने उनी बताउँछन् । तर क्लबका पदाधिकारी भने कलेजसँग दुश्मनी मोल्न तयार छैनन् ।

    प्रसुति गृह निर्माणका लागि सिमेन्ट किन्ने पैसा संकलन गर्न क्लबले त्यतिबेला सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । सांस्कृतिक कार्यक्रमबाट उठेको पैसाले करिब डेढ सय बोरा सिमेन्ट किनिएको उनले बताए ।

    अस्पतालले धान्नै नसक्ने चाप

    भरतपुर अस्पतालका विभागिय प्रमुख एवम् स्त्री तथा प्रसुतिरोग विशेषज्ञ प्राडा सुनिलमणी पोखरेलले जिल्लामा प्रसुति गृह अत्यावश्यक भइसकेको बताए । जिल्लाको जनसंख्यासंगै बाहिरबाट बसाइसरी आउनेको संख्या समेत बढ्दै गएकोले पछिल्लो १० वर्षमा प्रसुति गराउनेको संख्या दोब्बरले बढेको उनी बताउँछन् ।

    उनी भरतपुर अस्पतालमा १० वर्षदेखि कार्यरत छन् । १० वर्षअगाडि वर्षमा छ हजार डेलिभरी हुन्थ्यो भने अहिले वर्षमा १२ देखि १४ हजार डेलिभरी हुने उनले बताए ।

    ‘विगत १० वर्षमा डेलिभरी गराउनेको संख्या दोब्बरले बढेका छन् । त्यसले गर्दा हामीले अहिलेसम्म दक्ष जनशक्ति र भौतिक पूर्वाधारहरु थपिरहेको भएपनि हामीलाई थाम्न गाह्रो भइरहेको छ । अस्पतालभित्र कम्तिमा पनि तीन सय बेडको प्रसुति गृह हुनेगरी एउटा छुट्टै भवनको आवश्यकता परेको छ’, उनले भने ।

    क्षमताभन्दा बढीलाई प्रसुति सेवा दिनुपर्दा १५ देखि २० जनाको अतिरिक्त लोड लिनुपरेको उनी बताउँछन् । ‘ह्युमन रिसोर्सको क्राइसिस छ, पारामेडिकल रिसोर्स होस् वा डाक्टरहरुको कुरा होस् । बेडको पनि उत्तिकै अभाव छ । नेपाल सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत निःशुल्क दिने कार्यक्रम हो । यहाँ आउने विरामीलाई अन्त जान भन्न पनि मिल्दैन’, उनले भने ।

    ‘यताउती गर्दा पनि सुत्केरी भएका बढीमा ३० जनासम्मलाई बेडमा राख्न सक्ने ठाउँ छ । अप्रेशनका पनि १२ जनासम्मको लागि मात्रै ठाउँ छ । कहिले १५/२० जना पनि हुन्छन् । पोष्टअपमा नराखेर जनरल वार्डमा पनि राख्नुपर्ने हुन्छ । डेलिभरी केशलाई चाँहि ३० वटा मात्रै छ । हामीकहाँ ४० वटा भइदियो भने १० जना भुइमै बस्नुपर्छ’, उनले भने ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन
    लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया
    मध्यविन्दु नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य पदार्थ जफत

    ताजा अपडेट

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन

    श्रावण २६, काठमाडौं । नेकपा एमालेले संघीय र प्रदेश निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन कमिटी...

    लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया

    कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती र देवचुली नगरपालिकाको सिमानामा पर्ने लोकाहामा...

    • मध्यविन्दु नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य पदार्थ जफत
    • कांग्रेसको सामाजिक संजालमा रोइलो
    • कोरोनाबाट एकैदिन पाँच जनाको मृत्यु, नयाँ संक्रमित ८१५ जना
    • विष्णु माझीको नयाँ तीजगीत चरी जेलैमा–२ सार्वजनिक (भिडियोसहित)

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.