लेजरमा विद्यार्थीले प्राप्त गरेको नम्बर पनि राखिने

काठमाडौं, २ असार एसएलसी दिएका विद्यार्थीको ग्रेडसिटमा ग्रेड मात्रै उल्लेख भए पनि लेजरमा भने विद्यार्थीले प्राप्त गरेको नम्बरसमेत राखिने भएको छ । विद्यार्थीले एसएलसीको उत्तरपुस्तिका हेर्ने हक रहेको र त्यसबाट आफूले प्राप्त गरेको नम्बर प्राप्त हुने भएकाले लेजरमा नम्बर राखिने भएको हो । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले परीक्षा नियन्त्रण कार्यालयको लेजरमा विद्यार्थीले प्राप्त गरेको नम्बर पनि राखिने बताए । ‘पनिकाको लेजरमा नम्बर पनि हुन्छ, तर विद्यालयलाई पठाउने लेजरमा नम्बर राख्ने विषयमा बोर्ड बैठकमा छलफल गर्छौँ,’ नियन्त्रक काप्रीले भने, ‘विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउने र त्यसमा नम्बर हुने भएकाले लेजरमा पनि नम्बर राख्ने भएका हौँ ।’ अहिले शिक्षकले विद्यार्थीको उत्तरपुस्तिकामा नम्बर दिने र त्यसलाई ग्रेडमा राख्ने व्यवस्था गरिएको छ । शिक्षा मन्त्रालयले ०७२ देखि साधारण विषयमा पनि एसएलसीको नतिजा लेटर ग्रेड प्रणालीमा निकाल्ने निर्णय गरेको थियो । परीक्षा नियन्त्रण कार्यालयले तयार पारेको ग्रेडसिटको नमुना अघिल्ला वर्षको मार्कसिटभन्दा धेरै फरक छ । ग्रेड सिटमा क्रेडिट आवर, अब्टेन्ड ग्रेड (थ्योरी र प्राक्टिकल), फाइनल ग्रेड, ग्रेड प्वाइन्ट र रिमाक्र्स राखिएको छ । पनिकाले एभरेजमा ग्रेड राखेको छैन, तर ग्रेड प्वाइन्ट एभरेज (जिपिए) राखेको छ । ०७२ को एसएलसीमा साधारणतर्फ नियमित र एक्ज्याम्टेडतर्फ गरी ६ लाख एक सय २२ परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक काप्रीले बताए । यस वर्ष साधारणतर्फ चार लाख ४० हजार ६ सय ४९ र एक्ज्याम्टेडतर्फ ५९ हजार चार सय ७२ सहभागी थिए । नम्बरका आधारमा ग्रेड शिक्षा मन्त्रालयले एसएलसीको नम्बरलाई नौ ग्रेडमा विभाजन गरेको छ । ९० र त्यसभन्दा माथि ए प्लस, ८० र त्यसभन्दा माथि ९० भन्दा कमलाई ए, ७० र त्यसभन्दा माथि ८० भन्दा कम बी प्लस, ६० र त्यसभन्दा माथि ७० भन्दा कम बी, ५० र त्यसभन्दा माथि ६० भन्दा कम सी प्लस, ४० र त्यसभन्दा माथि ५० भन्दा कम सी, ३० र त्यसभन्दा माथि ४० भन्दा कम डी प्लस, २० र त्यसभन्दा माथि ३० भन्दा कम डी, २० भन्दा कम ई ग्रेड निर्धारण गरेको छ । ग्रेडको व्याख्या ए प्लसलाई आउटस्ट्यान्डिङ, एलाई एक्सेलेन्ट, बी प्लसलाई भेरी गुड, बीलाई गुड, सी प्लसलाई सेटिस्फेक्ट्री, सीलाई एसेप्टेबल, डी प्लसलाई पार्सियल्ली एसेप्टेबल, डीलाई इनसफिसेन्ट, ईलाई भेरी इनसफिसेन्टका रूपमा व्याख्या गरिएको छ । नौवटा ग्रेडमध्य सबैभन्दा माथिल्लोलाई ४.० र सबैभन्दा कमलाई ०.८ रहेको छ । ए प्लसलाई ग्रेड प्वाइन्टमा ४.०, एलाई ३.६, बी प्लसलाई ३.२, बीलाई २.८, सी प्लसलाई २.४, सीलाई २.०, डी प्लसलाई १.६, डीलाई १.२, ईलाई ०.८ ग्रेड प्वाइन्ट निर्धारण गरिएको छ ।
तपाइँको प्रतिक्रिया