लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव व्यवस्थापिका संसदमा

७ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावले आइतबार व्यवस्थापिका संसदमा छलफलको स्थान पाउने भएको छ । संसदको बैठक विहान ११ बजे बोलाइएको र, बैठकमा महाअभियोग प्रस्तावले प्रवेश पाउने संसद सचिवालय स्रोतले बताएको छ । बैठकमा सभामुख ओनसरी घर्ती मगरले महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गर्ने कार्यसूची रहेको छ । यसअघि बिहीबारकै बैठकमा महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गर्ने योजना थियो । तर, प्रमुख दलहरुले छलफलका लागि समय भागेको भन्दै संसद बैठक स्थगित गरिएको थियो । संसद सचिवालयका अधिकारीहरुका अनुसार सभामुखले भोलि/पर्सीबाटै छलफल गराउन सक्नुहुने छ । प्रस्तावमाथि सैद्धान्तिक छलफल भएपछि महाअभियोग सिफारिस समितिमा पठाइने, जुन हालै गठन भएको छ । यो समितिले अख्तियार प्रमुख कार्कीसँग बयान लिनुका साथै उनलाई आफूलाई निर्दोष सावित गर्ने मौका दिनेछ । यो समितिले अध्ययन पश्चात महाअभियोग लगाउन उपयुक्त भएको रायसहितको प्रतिवेदन दिएपछि संसदमा प्रस्तुत हुन्छ र दुई तिहाईले पास भए कार्की स्वतः पदमुक्त हुन्छन् । सत्तारुढ माओवादी र प्रमुख विपक्षी एमालेका १५७ सांसदले कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने यसबारे धारणा बनाइसकेको छैन । उसको केन्द्रीय समिति बैठकमा युवा नेताहरुले महाअभियोग प्रस्तावको पक्षमा उभिन नेतृत्वलाई दबाव दिएका छन् । तर, कुनै निर्णय नगरी सोमबारसम्मका लागि बैठक स्थगित गरिएको छ । कांग्रेसको नेतृत्वले अख्तियार प्रमुख कार्कीलाई राजीनामा गराउने मध्यमार्गी विकल्पबारे समेत छलफल गरेका छन् । माओवादीले यसबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई दिएको छ । एमालेले संस्थागत निर्णय नगरेपनि महाअभियोगको पक्षमा उभिएको छ । मधेस केन्द्रीय दलहरुले भने यसलाई संविधान संशोधनको आफ्नो मागलाई ओझेलमा पर्ने प्रयासका रुपमा हेरेका छन् ।
तपाइँको प्रतिक्रिया