लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया

कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती र देवचुली नगरपालिकाको सिमानामा पर्ने लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया कार्यक्रम भएको छ ।
कावासोती नगरपालिकाको सभाहलमा प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणीभद्र शर्माको उपस्थितमा अन्तरक्रिया कार्यक्रम भएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले औद्योगिक क्षेत्र स्थापनामा स्थानीय स्तरबाट वातावरण तयार पार्न सबैमा अनुरोध गर्नुभयो । औद्योगिक क्षेत्र स्थापनाका लागि पर्ने स्थानीय समस्या समाधानमा आफुहरु पनि सचेत रहेको बताउँदै स्थानीय सरोकारवालाहरूको सहयोग आवश्यक रहेको बताउनुभयो ।
प्रदेश मार्फत जग्गाको नापजाँच गरि नेपाल सरकारको नाममा स्रेस्ता कायम गर्ने काम भएको बताउँदै स्थानीय रुपमा देखिएका समस्या बारे बुझ्न आफूहरू आएको मन्त्री शर्माले बताउनुभयो ।
उद्योग स्थापना भए यहिका बासिन्दा लाभान्वित हुने मन्त्री शर्माले बताउनुभयो । उद्योग स्थापना गर्दै गर्दा वातावरणीय प्रभाव अध्ययन गरि सोही अनुसार काम गरिने बताउनुभयो । कोही विस्थापित नहुने ,वातावरणमा असर नपर्ने गरि उद्योग स्थापना र सञ्चालन गरिने मन्त्री शर्माले बताउनुभयो । उहाँले आफुले औद्योगिक क्षेत्र स्थापनाका विषयमा एक वर्ष पहिला समेत कावासोतीमा छलफल गरि काम सुरु गरेको बताउनुभयो । कतिपय काम संघसँग ठोक्किने हुँदा कामले गति लिन नसकेको मन्त्री शर्माले बताउनुभयो ।
लोकाहामा औद्योगिक क्षेत्र निर्माणका क्रममा हाल सञ्चालनमा रहेको बाटो, वन सँग उपभोक्ताको पहुँच, भएका संरचनाको संरक्षण गर्दै काम गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् ।
कावासोती नगरपालिका नगर प्रमुख विष्णु प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे , डिभिजन वन कार्यालय प्रमुख मोहनराज काफ्ले , नापी कार्यालयका प्रमुख खिमलाल गौतम , वडा नम्बर १ का वडा अध्यक्ष तबारक अहमद मिया, देवचुली १० र १५ का वडा अध्यक्ष, सामुदायिक वनका प्रतिनीधि, विद्यालयका प्रतिनिधि लगायत सरोकारवालाहरूले कार्यक्रममा आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले औद्योगिक क्षेत्र निर्माणमा आफूहरूको सहयोग रहने बताएका थिए । तर वातावरणीय प्रभाव अध्ययन गरि तेसबाट देखिने प्रभावहरुको व्यवस्थापनमा गरेर काम गर्नुपर्ने सुझाव दिएका थिए
अन्तरक्रिया कार्यक्रम जिसस नवलपुर प्रमुख बाबुराम विश्वकर्माको अध्यक्षतामा भएको थियो । सो क्रममा बोल्दै जिसस प्रमुख विश्वकर्माले जिससले औद्योगिक क्षेत्र निर्माणका लागि स्थानीय स्तरबाट समन्वय गर्न तयार भएको बताउनु भएको थियो । प्रदेशले यस क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्ने योजना बनाउनु सकारात्मक काम भएको बताउँदै देखिने समस्याको समाधान गर्दै कामलाई अघि बढाउनुपर्ने उहाँले बताउनुभएको थियो । कार्यक्रममा जिसस उप प्रमुख शकुन्तला लम्साल, कावासोती नगरपालिका उप प्रमुख फूलकुमारी थनेत, जिससका सदस्यहरू स्थानीय सरोकारवाला लगायतको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया