वडाध्यक्ष ज्ञवालीको पारिश्रमिक महिला समुहलाई

गैँडाकोट, २३ पुस । गैडाकोट नगरपालिका–१६ का वडा अध्यक्ष गोबर्धन ज्ञवालीले आफ्नो अहिलेसम्मको पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्नुभएको छ । निर्वाचित हुँदाको बेलादेखी नै जनताको पसिनाबाट जनप्रतिनिधीले सुविधा प्राप्त गर्न हुँदैन भन्दै आवाज उठाउँदै आउनुभएका अध्यक्ष ज्ञवालीले आफ्नो पारिश्रमिक विभिन्न सामाजिक कार्यमा खर्च गर्नुभएको हो ।
जसअन्तर्गत वडाध्यक्ष ज्ञवालीले शुक्रवार एक कार्यक्रमको आयोजना गरि वडा नम्बर–१६ भित्र रहेका १० वटा महिला समुहरुको स्तरउन्नतीका लागि भन्दै रकम सहयोग गर्नुभयो । उहाँले वडामा रहेका विभिन्न १० वटा आमा समुहलाई प्रतिसमुह १० हजारका दरले रु १ लाख रुपैया हस्तान्तरण गर्नुभएको हो ।
सो कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले जनताको मतबाट नै आफु जनप्रतिनिधी हुन सम्भव भएको भन्दै जनताको सेवा नै सबैभन्दा ठुलो धर्म भएको बताउनुभयो । उहाँले सामाजिक कार्य संगसंगै वडा विकासको गतिमा समेत लम्कीरहेको बताउँदै नगरपालिका भित्रका वडाहरुमा सबैभन्दा विकसित आफ्नो वडा रहेको दावी समेत गर्नुभयो । आफु सधै विकासनिर्माण र सामाजिक कार्यमा लाग्दापनि आफुलाई फसाउन विभिन्न आरोप पत्यारोप आउने गरेको उहाँको गुनासो छ ।
वडाध्यक्ष ज्ञवालीले आफ्नो पारिश्रमीकबाट अमरापुरी स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर खोल्नको लागि ४० हजार, वेल्डिहा चौकीलाई ७ थान पङखा, विजय ज्योती निमावी लाइ ६० हजार रकम बरावरको कुर्सी प्रदान, कोरोना पिडीत परिवारलाई ६० हजार रुपैँयाको राहत प्रदान, दुर्गा मन्दिरलाई २४ थान पंखा, आफ्नो बाबाको नाममा वाल उद्य विद्यालयलाई स्कुललाई एक लाख रुपैँया बराबरको कार्यलय सामग्री प्रदान लगायतमा खर्च गरिसक्नुभएको छ ।
वडा अध्यक्षले आमा समुहरुलाई रकम प्रदान गरेको प्रति आमा समहहरुले वडा अध्यक्ष ज्ञवालीलाई धन्यवाद व्यक्त गरेका थिए ।
तपाइँको प्रतिक्रिया