वन्यजन्तु आक्रमणबाट ज्यानै जाने घटना कम

कसरा,१४ भदौं । चितवन निकुञ्जमा चोरी सिकारीबाट दुर्लभ वन्यजन्तु मारिने घटनामात्रै कम भएको होइन, निकुञ्जबाट निस्केर जंगली जनावरले आक्रमण गर्दा स्थानीयको ज्यान जाने घटना पनि कम भएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसराबाट प्राप्त विवरणअनुसार गएको आर्थिक वर्ष ०७२र७३ मा वन्यजन्तुका आक्रमणबाट मध्यवर्ती क्षेत्रमा पाँचको ज्यान गएको छ । ‘उनीहरुका परिवारलाई निकुञ्जले राहतबापत्को रकम पनि हस्तान्तरण गरिसकेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । वन्यजन्तुको आक्रमणले निकुञ्जबाहिर मध्यवर्ती क्षेत्रमा स्थानीयको ज्यान गएमा एकजनाको पाँच लाख रुपैयाँका दरले राहत पाउने व्यवस्था छ । गत आर्थिक वर्षमा मानव मृत्यु बापत् निकुञ्जले राहतस्वरुप २५ लाख रुपैयाँ मृतकका परिवारहरुलाई प्रदान गरेको सूचना अधिकारी अर्यालले जानकारी दिए । चितवन निकुञ्जले उपलव्ध गराएको विवरणअनुसार यसअघिको आर्थिक वर्ष ०७१÷७२ मा वन्यजन्तु आक्रमणमा परेर ९ जनाको मृत्यु भएको थियो । निकुञ्जकाअनुसार १८ वर्षमा औषतमा नौभन्दा धेरैको ज्यान गएको छ । चितवन निकुञ्जमा आर्थिक वर्ष ०५५र५६ देखि मध्यवर्ती क्षेत्रमा वन्यजन्तु आएर आक्रमणगर्दा स्थानीयको ज्यान गएको विवरण समावेश छ । सो बेलादेखि गतआर्थिक वर्षको १८ वर्षसम्म कुल १६३ जनाको ज्यान गएको निकुञ्जले दिएको तथ्याङ्कमा उल्लेख छ । सबैभन्दा धेरै आर्थिक वर्ष ०६०र६१ मा २५ जनाको ज्यान गएको थियो । निकुञ्जको विवरण हेर्दा सबैभन्दा कम आर्थिक वर्ष ०५७र५८ मा जम्मा दुईको मात्रै ज्यान गएको थियो । थ्याङ्कअनुसार मानव मृत्युको राहतका लागि १८ वर्षमा एक करोड ८३ लाख १५ हजार रुपैयाँ खर्च भएको छ । मानव मृत्युमा पाँच लाख रुपैयाँ राहत दिने नियम पहिल्यैदेखि भने थिएन । क्रमशः बढ्दै यो तहसम्म आएको हो । सुरुमा मृतकका परिवारले २५ हजार रुपैयाँमात्रै राहत पाउने व्यवस्था थियो । विसं. २०६६ सालदेखि राहत रकम बढेर मृतकका परिवारलाई एक लाख ५० हजार रुपैयाँ दिने व्यवस्था कायम भयो । त्यसपछि विसं. २०६९ साल माघदेखि राहत रकम बढाएर तीन लाख दिने व्यवस्थामन्त्री परिषद्को निर्णयले कायम भएको थियो । विसं. २०७२ सालको वैशाख ३१ मा वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्दे्शिका संशोधन गरेर मृतकका परिवारलाई राहत स्वरुप पाँच लाख रुपैयाँ दिने व्यवस्था भएको हो । घाइतेलाई पनि निश्चित मात्रामा उपचार खर्च दिने व्यवस्था छ । तर राहत रकम र उपचार खर्च भएको र रकम पाउन सहज नभएको भन्ने गुनासो व्यापक मात्रामा आउने गरेको छ । चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा चितवनसहित नवलपरासी र केहीमात्रामा पर्सा र मकवानपुरका भूभागहरु पर्दछन् । ७५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको मध्यवर्तीमा ५० हजार घरधुरीको बसोबास रहने गरेको छ । चितवन निकुञ्ज विश्वमै दुर्लभ वन्यजन्तु एक सिंगे गैंडा, पाटे बाघलगायतका वन्यजन्तुको मुख्य वासस्थल हो । यी जनावरका साथै जंगली हात्ती र भालुलगायतका हिंस्रक वन्यजन्तुले निकुञ्ज आसपासको मध्यवर्ती क्षेत्रमा बस्नेहरुलाई आक्रमण गरेर सताउने गर्दछ । वन्यजन्तुको आक्रमणमा परेर निकुञ्जभित्रै कसैको ज्यान गएमा राहत नपाउने कानुनी व्यवस्था रहेको छ ।
तपाइँको प्रतिक्रिया