वन संरक्षणको क्षेत्रमा मौलाकाली सामुदायिक वनले राम्रो काम गरेको भन्दै अतिथिहरुद्धारा प्रशंसा

गैंडाकोट, कार्तिक ४
डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्लेले अद्यावधिक वन ऐन र नियमावली अनुसार सामुदायिक वनहरुले आफ्ना कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभयो । मौलाकाली सामुदायिक वनको २० औं वार्षिक साधारण सभामा बोल्दै काफ्लेले सो कुरा बताउनुभएको हो । सामुदायिक वनले भूक्षय, जलवायु परिवर्तन, प्राकृतिक प्रकोपको न्यूनिकरणका लागि समेत कार्यक्रम अघि बढाउनुपर्ने उहाँको धारणा थियो । सामुदायिक वनको संरक्षणको क्षेत्रमा मौलाकाली सामुदायिक वन अग्रणी संस्थाको रुपमा अघि बढेको पनि उहाँले बताउनुभयो ।
त्यस्तै मौलाकाली सामुदायिक वन गैंडाकोट १ को शुक्रबार २० औं वार्षिक साधारण सभाका अतिथिहरुले वन संरक्षणको क्षेत्रमा वनले प्रशंसा युक्त कार्य गर्दै आएको बताएका हुन् ।
वन ऐन २०७६ र नियमावली २०७९ अनुसार मौलाकाली सामुदायिक वनले वनलाई संरक्षण, सम्बर्धन र विकास गर्ने कार्यक्रमहरुलाई प्राथमिकताका साथ अघि बढाएको वनका अध्यक्ष हरिप्रसाद सापकोटाले बताउनु भयो । विगत एक वर्षमा सामुदायिक वनले बृक्षरोपण, डढेलो नियन्त्रण, भूक्षय न्यूनिकरण, वन्यजन्तुको संरक्षण, पर्यापर्यटनको विकास, जलाधार क्षेत्रको संरक्षण लगायतका विभिन्न क्षेत्रमा काम गरेको उहाँको भनाई थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ, गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटाले पछिल्लो वन ऐन र नियमावली उपभोक्ताको हीतमा नभएको बताउँदै यसलाई संशोधन गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
सब डिभिजन वन कार्यालय गैंडाकोटका प्रमुख सूर्यसिंह गुरुङले भने सामुदायिक वनलाई पर्यपर्याटनको विकासको आधार बनाउनुपर्ने बताउनुभयो ।
गत आर्थिक वर्षमा २ करोड ३ लाख ४१ हजार आम्दानी र २ करोड १६ हजार ६ सय २१ खर्च भएको वनका कोषाध्यक्ष कमलप्रसाद कंडेलले बताउनुभयो । वन पैदावरबाट १ करोड ६४ लाख २२ हजार आम्दानी रहेको बताउनुभयो । कोषाध्यक्ष कंडेलका अनुसार सामुदायिक वनले चालु आर्थिक वर्षमा १ करोड ४७ लाख ६२ हजार ८ सय ८६ रुपया आम्दानी गर्ने प्रस्ताव गरेको छ ।
गरिबी न्यूनिकरण अन्तर्गत विपन्न उपभोक्तालाई सुलभ घर निर्माण, महिला शसक्तिकरण अन्तर्गत हस्तकला तालिम, वन पैदावर वितरण लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरेको मौलाकालि सामुदायिक वनका सचिव देवकी मिश्रले बताउनुभयो । यसका साथै वनले धार्मिक पर्यटकीय सडक निर्माणमा सहयोग, चुहार खोला निर्माणमा तदारुकता, बाँसजन्य विरुवाको बृक्षरोपण, चोरीतस्करी नियन्त्रणका लागि विशेष रणनीति बनाइ कार्यन्वयन गरिएको बताउनुभयो । वातावरणीय संरक्षणका लागि प्रत्येक टोललाई २५ हजार उपलब्ध गराउने कार्य सम्पादन र यस वर्ष निरन्तरता दिने योजना रहेको सचिव मिश्रको भनाई थियो ।
साधारण सभामा लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक शशीचन्द्र सिग्देल, अनुगमन तथा मूल्याकंन समितिको प्रतिवेदन समितिका संयोजक वेदप्रसाद गौडेलले प्रस्तुत गर्नुभएको थियो ।
सामुदायिक वनको विकास र वनको संरक्षणमा उल्लेख्य योगदान दिने विशिष्ट व्यक्तिलाई मौलाकालि सामुदायिक वनले हरेक वर्ष अभिनन्दन गर्दै आएको छ । वार्षिक साधारण सभामा अग्नी रेखा सरसफाई कार्यका लागि २१ जना उपभोक्ता, झाडी सरसफाइ तर्फ २ जना, वातावरण सरसफाई कार्यक्रम अन्तर्गत शुभ टोल र एसपीएम टोल र महिला सशक्तिकरण अन्तर्गत ६ जनालाई सम्मान गरेको छ । यसैगरी सामुदायिक वनले गरिबी निवारण कार्यक्रम अन्तर्गत एक चेपाङ परिवारलाई घर हस्तान्तरण गरिएको छ ।
सामुदायिक वनको वार्षिक साधारणसभाका क्रममा गैंडाकोट १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी, गैंडाकोट २ का वडा अध्यक्ष प्रकाश सापकोटा, धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटा, गण्डकी साकोसका अध्यक्ष पोषणराज सुवेदी, जयश्री सामुदायिक वनका अध्यक्ष टोलनाथ घिमिरे, उपभोक्ता सरिता तिवारी लगायतको शुभकामना मन्तब्य रहेको थियो भने वनका उपाध्यक्ष भगवान घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
वि.सं. २०४९ सालबाट संरक्षणको प्रारम्भ भएको यस सामुदायिक वन २०६३ सालमा समुदायमा हस्तान्तरण भएको थियो । ४ सय ९० दशमलब ८१ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनका २ हजार ३ सय १९ उपभोक्ता रहेका छन् । पूर्वमा कालिका मन्दिर जाने बाटो, पश्चिममा जयश्री सामुदायिक वन, उत्तरमा धार्मिक वन र दक्षिणमा आवादी क्षेत्रसंग सिमाना फैलिएको छ ।
तपाइँको प्रतिक्रिया