वागीश्वरी आश्रममा आध्यात्मिक विचार गोष्ठी हुने

नवलपुर, १६ मंसिर । देवघाट क्षेत्र विकास समितिअन्तर्गत पर्ने श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रममा वागीश्वरी आध्यात्मिक विचार गोष्ठी हुने भएको छ ।
आश्रम २५ वर्षमा प्रवेश गरेको अवसरमा रजत वर्षको अवसर पारेर मंसिर १८ गते आध्यात्मिक विचार गोष्ठी गर्न लागिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । परिषद्का अध्यक्ष शैलेन्द्रकुमार पियाले वागीश्वरीको आध्यात्मिक, ऐतिहासिक, धार्मिक, पुरातात्विक र सांस्कृतिक पक्षलाई प्रष्ट पार्नेगरी विचार गोष्ठी गर्न लागिएको जानकरी दिनुभयो ।
गौ संरक्षण जडिबुटी, योग आयुर्वेद प्राकृतिक चिकित्सा स्थानीय गौ संरक्षण वृद्धवृद्धा तथा अनाथ बालबालिकाहरुको संरक्षण तथा समावेशी संस्कृत गुरुकुलम् सञ्चालनका लागि संस्थाको स्थापना गरिएको पियाले बताउनुभयो । वागीश्वरीको खास इतिहास पत्ता लगाउनका लागि समेत स्मारिका निकाल्न लागिएको भन्दै त्यसैको पूर्वसन्ध्यामा विचार गोष्ठी गर्न लागिएको पियाको भनाइ छ ।
योगी नरहरिनाथले कोटी होम लगाएको वागीश्वरी क्षेत्रको संरक्षण गर्दै यस स्थानमा दुई सय भन्दा बढी स्थानीय प्रजातिको गाईहरु संरक्षण गरेर राखिएको छ । संरक्षित गाईबाट गौअर्क प्रशोधन गरी मानव उपचारमा प्रयोग भइरहेको आश्रमका महासचिव भोजराज भट्टराईले बताउनुभयो । आश्रमले सञ्चालन गरेको गुरुकुलम्मा ३० जना बटुकहरुले निःशुल्क शिक्षा लिइरहेका छन् ।
मंसिर १८ गते शनिबार हुने विचार गोष्ठीमा प्रमुख अतिथिको रुपमा वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान सहभागी हुने भट्टराईले बताउनुभयो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति प्राज्ञ डा जगमान गुरुङ, सदस्य प्राज्ञ दिनेशराज पन्त, पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरलगायतले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।
तपाइँको प्रतिक्रिया