वामपन्थीहरुले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरे : महामन्त्री डा. कोइराला

ज्ञानु पंगेनी
नवलपुर, असोज ६
नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले वामपन्थीहरुले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन नवलपुरको १० औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै महामन्त्री कोइरालाले उक्त आरोप लगाएका हुन् । उनले भने, ‘प्रेस युनियनको महत्व अहिले अत्यन्त धेरै छ किनभने वामपन्थीहरुले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेका छन्, तसर्थ म महामन्त्रीको हैसियतले तपार्इँहरुले बिना हिचकिचाइ लेख्नोस् म त्यसको जिम्मेवारी लिन्छु ।’
नवलपुरका प्रतिनिधिसभा सदस्यसमेत रहेका कोइरालाले अहिलेको समयमा प्रेस स्वतन्त्रता हुनै पर्ने समेत टिप्पणी गरे । उनले नेपाली कांग्रेस मात्रै प्रेस स्वतन्त्रताको पक्षमा रहेको समेत तर्क गरे । उनले वीपी कोइराला प्रधानमन्त्री हुँदाका बखत पनि प्रेस स्वन्त्रताको पक्षमा उभिएको स्मरण गर्दै नेपाली कांग्रेस प्रेस स्वतन्त्रताप्रति अत्यन्त गम्भीर रहेको समेत बताए । उनले नेपाली कांग्रेसको अधिवेशन आउँदै गरेकाले देश दौडाहामा आफू लागेको समेत बताए । उनले आउँदो अधिवेशनका बारेमा अहिले केही भन्न नचाहेको तर कार्यकर्ताका कुराहरु सुन्न आफू निस्किएको बताएका छन् ।
तपाइँको प्रतिक्रिया