विकसित भनिएको गैँडाकोट नगरपालिकामा घरमै जटिलताका साथ सुत्केरी हुँदै महिला

विन्दु वाग्ले/गैँडाकोट, ४ मंसिर ।
सुन्दा अचम्म लाग्ला, गैँडाकोट जस्तो विकसित नगरमा पनि अझै घरमै जटिलताका साथ सत्केरी हुन बाध्य छन् महिलाहरु । गैँडाकोट नगर स्वास्थ्य चौकी इन्चार्ज सीता रिजालले गैँडाकोट नगरपालिकाका विभिन्न वडामा असुरक्षित तरिकाले घरमै सुत्केरी हुने गरेको जानकारी दिनुभयो ।
२०७८ साल श्रावण महिना देखी मंसिर सम्म गैँडाकोट नगरपालिकामा ८ जना महिलाहरु आर्थिक अवस्था कमजोर भएका परिवारका महिला असुरक्षित तवरले घरमा नै सुत्केरी भइरहेको इन्चार्ज रिजालको भनाई छ । उहाँका अनुसार श्रावणमा १ जना, भदौमा २ जना, अशोजमा २ जना, कार्तिकमा २ जना र मंसिर महिनामा १ जना महिला जोखिम मोलेर घरमै सुत्केरी भएका हुन् । यसरी सुत्केरी गराइदा गर्भवतीको स्वास्थ्य जोखिममा पर्ने गरेको छ ।
गरिवी, अशिक्षाका साथसाथै नगर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना गर्न नसक्नुको कारण नै महिलाहरु ज्यानलाई जोखिममा राखेर घरमा नै सुत्केरी हु्न बाध्य भएको इन्चार्ज रिजालले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना गर्न सके घरमै जोखिमपुर्ण रुपले सुत्केरी हुने अवस्थालाई कम गर्न सकिन्छ ।
घरमा नै सुत्केरी हुँदा मात्रृ मत्युदर ह्वात्तै बढ्नसक्ने खतराका साथसाथै सरकारले सुत्केरीलाई निशुल्क प्रदान गर्दै आएको अन्य सेवा सुवीधा समेत प्राप्त गर्नबाट महिलाहरु बन्चित हुुनुपरेको उहाँले बताउनुभयो ।
‘हाम्रो नगरपालिकामा घरमा नै सुत्केरी हुनेको संख्या बढेको छ, त्यो भनेको मात्रृ मृत्युदर बढि हुने हो, अझैपनि केहि वडाहरुमा घरमा नै सुत्केरी हुने महिलाहरु छन्, सुत्केरी भएको घरमा जादाखेरी उनीहरुको अवस्था यती कमजोर छ की एउटा ओछ्याउने गुन्द्रीसमेत भएको हुँदैन, खर्चीलो हुने डरले अस्पताल जान डराउँछन्’ उहाँले भन्नुभयो ‘यसरी घरमा नै सुत्केरी हुँदा स्वास्थ्य चौकीबाट प्राप्त गर्न सकिने पोषण भत्ता, आमा र शिशुका लागि पोशाक, सुरक्षीत मात्रृत्व सेवावापत प्रदान गरिने नगद भत्ताबाट समेत गर्भवती महिलाहरु बन्चित हुनुपरेको छ ।’
गैँडाकोट नगर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन गर्न सकेको खण्डमा यस्ता समस्यालाई न्युनिकरण गर्न सकिने रिजालको भनाई छ । त्यसका लागि विशेष चासोका साथ पहल गरिदिन रिजालले स्थानिय सरकारलाई आग्रह समेत गर्नुभएको छ ।
सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन स्वरूप भत्ता लगायतका सुविधा प्रदान गरे पनि अझै महिला यसबारे अनभिज्ञ छन् । चेतनाको अभावमा अझै कतिपय महिला गर्भ जाँच गर्न र स्वास्थ्य संस्थामा गएर सुत्केरी हुन लाज मान्ने समेत गरेका छन् । सुत्केरी अवस्था महिलाका लागि एकदमै संवेदनशील अवस्था हो तर घरपरिवारको बेवास्ता, सरकारी उदासिनता र जनचेतनाको अभावले महिलाहरू अहिले पनि भगवान भरोसामा घरमै असुरक्षित तरिकाले सुत्केरी हुन बाध्य छन् ।
तपाइँको प्रतिक्रिया