विभिन्न विद्यार्थी सङ्गठनद्वारा कार्यबाहक परराष्ट्रमन्त्री खगराज अधिकारीसमक्ष ज्ञापनपत्र

भारतले लगाएको अघोषित नाकाबन्दीको विरोधमा विभिन्न विद्यार्थी सङ्गठनले मंगलबार कार्यबाहक परराष्ट्रमन्त्री खगराज अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका छन् । नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) लगायतले मधेसलगायत देशभित्र देखा परेका विभिन्न असन्तुष्टिलाई वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन् । ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको अनुपस्थितिमा सो मन्त्रालयको पनि कार्यभार सम्हालिरहनु भएका स्वास्थ्यमन्त्री अधिकारीले अघोषित नाकाबन्दीले नेपाललाई मात्र घाटा नभएर भारतलाई समेत नोक्सान पुग्ने बताउनुभयो । उहाँले दुई देशको सम्बन्धलाई झन् घनिष्ट पार्न चाहेको स्पष्ट पार्नुभयो ।मन्त्री अधिकारीले दसैँ, तिहार, छठलगायतका महत्वपूर्ण चाडहरु आउन लागेको भन्दै चाँडो चीनको नाका पनि खुलाउन सरकार लागिपरेको बताउनुभयो । उहाँले नेपालको समस्या भारतीय विदेशमन्त्रीसमक्ष राखिएकाले यो समस्या चाँडो हल हुने पनि विश्वास व्यक्त गर्नुभयो ।
तपाइँको प्रतिक्रिया