विराट हिन्दु सम्मेलनको बन्दशत्रभित्रै कुटाकुट

कात्तिक ५ , काठमाडौं , विराट हिन्दु सम्मेलनको बन्दशत्रभित्रै कुटाकुट भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञाभवनमा जारी विराट हिन्दु सम्मेलनको बन्दसत्रमा शुक्रबार सहभागीहरुबीच कुटाकुट भएको हो । झडपसँगै भएको कुटाकुटमा एकजना राप्रपा नेपालका कार्यकर्ता घाइते भएका छन् । उल्लेख्य संख्यामा प्रहरी परिचालित गरिएको छ । एकजना व्यक्तिले ‘म पनि राजावादी हुँ, म कमल थापाको कार्यकर्ता हुँ भनेपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि कुटाकुट भएको प्रत्यक्षदर्शीले बताए । आक्रोशित समूहले बन्दसत्रमा पाहुनाका रुपमा उपस्थित भारतीय जनता पार्टीका नेता आदित्यनाथविरुद्ध समेत नाराबाजी गरेको छ । विराट हिन्दु सम्मेलन भनिए पनि बन्दशत्रमा करिब ५०/६० जनामात्रै मानिसहरुको उपस्थिति थियो । पूर्वशाही पाश्वर्ती भरतकेशर सिंहको नेतृत्वमा आयोजना गरिएको तीन दिने अन्तरराष्ट्रिय हिन्दु सम्मेलनको उदघाटन विहीबार वनकालीमा पूर्वराजा ज्ञानेन्द्रले गरेका थिए । पूर्वराजा ज्ञानेन्द्रमार्फत उदघाटन गराइएको सम्मेलनमा यसरी आपसमै पिटापिट भएपछि यो घटनाले पूर्वराजाको राजनीतिक पहलको पहिलो गाँसमै ढुंगा लाग्न पुगेको छ । दलहरुवीच व्याप्त असन्तुष्टिलाई ‘क्यास’ गर्दै राजावादीहरुले ज्ञानेन्द्रलाई मैदानमा उतार्ने प्रयास गरेका थिए । तर, बिहानीले दिउँसोको संकेत गर्छ भनेजस्तै राजावादीहरुको सम्मेलन निराशाजनक एवं एकप्रकारले विफलजस्तै बन्न पुगेको छ । शनिबारसम्म चल्ने भनिएको हिन्दुवादीहरुको तीन दिने यो सम्मेलनले ज्ञानेन्द्रलाई सम्राट घोषणा गर्ने र नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्ने बताइएको थियो ।
तपाइँको प्रतिक्रिया