विहानैदेखि चितवनमा बन्दको प्रभाव, ट्रकलाई प्रहरीको स्कटिङ

चितवन, जेठ २१
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आज (शुक्रबार) आह्वान गरेको बन्दले चितवनसहित देशका विभिन्न जिल्लामा बन्दको प्रभाव परेको छ । आफ्ना पक्राउ परेका कार्यकर्ताहरुलाई रिहाईको माग गर्दै विप्लव माओवादीले आज बन्दको आह्वान गरेको हो । बन्दका कारण चितवनमा विहानै देखि सवारी साधानहरु संचालनमा आउन सकेका छैनन् । ठाउँ–ठाउँमा प्रहरी परिचालन गरिएको छ । ट्रकलाई भने प्रहरीले स्कटिङ गरि गन्तव्यमा पुर्याई रहेको छ । जिल्लामा अहिले सम्म बन्दको क्रममा कुनैपनि अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यस्तै प्रभाव चितवनको बजारमा समेत परेको छ । विहानैदेखि पसल, कलकारखानाहरु बन्द छन् । यस्तै शैक्षिक संस्थाहरु समेत बन्दको प्रभाव परेको छ । जिल्लाको मुख्य बजार नारायणगढ, भरतपुर, टाँडी, पर्सालगायतका स्थानमा बढि प्रभाव परेको छ । सरकारले विभिन्न मुद्दामा आफ्ना कार्यकर्ताहरुलाई फसाउने काम गरेको भन्दै विप्लव माओवादीले आज मेची, पश्चिम ताम्सालिङ र कर्णाली ब्यूरो बन्दको घोषणा गरेको हो । पश्चिम ताम्सालिङ अन्तर्गत चितवनसहित धादिङ, नुवाकोट र रसुवा समेत परेको छ। ती सबै जिल्लामा बन्दको प्रभाव परेको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।
माओवादीले झापा, जुम्ला र धादिङ जिल्लामा पक्राउ गरिएका नेता र कार्यकर्तालाई विना शर्त रिहाइको माग गरेको हो ।
तपाइँको प्रतिक्रिया