वैकल्पिक उर्जा प्रवर्द्धनका बिषयमा ठोस योजना ल्याउन सरकारलाई सुझाव

व्यबस्थापिका संसद अन्तर्गतको वातावरण संरक्षण समितिले वैकल्पिक उर्जा प्रवर्द्धनका सम्बन्धमा सरोकारवाला मन्त्रालय र मन्त्रीहरुसँग छलफल गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको बैठकमा पेट्रोलियम पदार्थ आपूर्तिको ठोस योजना ल्याउन सांसद र विज्ञहरुले सुझाव दिएपछि समितिले यस्तो निर्णय गरेको हो । बैठकमा सहभागी उर्जा विज्ञहरुले भाषणबाजी मात्रै गरेर वर्तमान समयमा देखिएको पेट्रोलियम पदार्थको विकल्प तयार नहुने भन्दै तत्काल ठोस योजना ल्याउन सरकारलाई सुझाव दिए । दीर्घकालिन रुपमा पेट्रोलियम पदार्थको विकल्प खोज्ने हो भने सरकारले तत्काल हाइड्रोपावरलाई प्रोत्साहन गरी लगानी बढाउनुपर्नेमा उनीहरुले जोड दिए । समितिको बैठकमा बोल्दै सांसदहरुले लक्ष्य निर्धारण नगरी ल्याइएको पाँच र दश वर्षीय योजनाले केही नहुने भएकाले वार्षिक रुपमा नै योजना ल्याउन सरकारलाई सुझाव दिए । वर्तमान समयमा देखिएको पेट्रोलियम पदार्थको दीर्घकालीन विकल्प वैकल्पिक उर्जाबारे छलफल गर्न बोलाइएको बैठकमा उपस्थित सम्बन्धित मन्त्रालयका सचिवहरुले आफ्ना कुरा राखेर बाहिरिएपछि समिति सदस्यहरु आक्रोशित भएका थिए ।
तपाइँको प्रतिक्रिया