संविधान संशोधन पछि मात्रै स्थानीय निर्वाचन – देव गुरुङ

सन्तकुमार चौधरी– कावासोती २१, कार्तिक । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले मधेशको माग संवोधन भएपछि मात्रै स्थानीय निर्वाचनमा जान सकिने बताउनुभएको छ । प्रेस सेन्टर नवलपरासीले आइतवार कावासोती स्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गुरुङले स्थानीय निर्वाचनमा जान राष्ट्रिय राजनीतिक सहमति आवश्यक रहेको तर्क गर्नुभयो । मधेशका कतिपय माग जायज भएकाले उनीहरुलाई समेटेर मात्रै स्थानीय निर्वाचनमा जान सकिने उहाँको भनाई थियो । स्थानीय निर्वाचनका लागि राजनीतिक सहमति भए अझैपनि चैत महिनाबाटै निर्वाचन गराउन सकिने तर्क गर्नुभयो । उहाँले सहमतिका लागि सरकारको तर्फवाट प्रयास भइरहेको समेत जिकिर गर्नुभयो । केही पार्टीका नेताहरु विदेशी शक्तिको इसारामा लाग्नेगरेका कारण सहमति हुन नसकेको भन्दै नेता गुरुङले पार्टी र सरकारको तर्फवाट सहमति गराउने प्रयास जारी रहेको उल्लेख गर्नुभयो । उहाँले संविधान संशोधन पहिलो आवश्यकता भएको बताउनुभयो । राष्ट्रिय सहमतिको आधारमा संविधान संशोधन गरेर मात्रै स्थानीय निर्वाचनमा जान सकिने तर्क गर्नुभयो । राजनीतिक छविलाई उच्च बनाउन दलहरुबीच केही दिनमै संविधान संशोधनको प्रस्ताव पारित हुने विश्वास समेत व्यक्त गर्नुभयो । अर्को फरक प्रशंगमा नेता गुरुङले परासी र नवलपुर खण्डलाई आवश्यकताका आधारमा थपघट गर्न सकिने बताउनुभयो । कार्यक्रम प्रेस सेन्टरका अध्यक्ष लक्ष्मीप्रसाद पंगेनीको अध्यक्षतामा आयोजना गरिएको थियो ।
तपाइँको प्रतिक्रिया