संसदमा बजेटमाथि दफाबार छलफल सुरु, कांग्रेसका कारण आधा घण्टा बैठक स्थगित

६ असार, काठमाडौं । व्यवस्थापिका संसद्मा आगामी आर्थिक वर्षको बजेटमाथि दफावार छलफल सुरु भएको छ । सरकारले सार्वजनिक गरेको २२ दिनपछि सोमबार संसदमा बजेटमाथिको दफावार छलफल सुरु भएको हो ।सोमबारको बैठकमा वाणिज्य, विज्ञान तथा प्रविधि, जनसंख्या तथा वातावरण, पर्यटन, सिंचाइ, सामान्य प्रशासन र पशुपंक्षी विकास मन्त्रालय अन्र्तगत विनियोजित बजेटमाथि छलफल भएको छ ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपूर्ति मन्त्रालयअन्र्तगत खाद्यान्न ढुवानीका लागि छुटयाइएको जिल्लागत बजेटको विवरण नपाएको भन्दै विवरण नपाएसम्म बैठक चल्न नदिने बताएपछि बैठक आधा घण्टा स्थगित गरिएको थियो ।
आधा घण्टापछि बसेको बैठकमा सभामुख ओनसरी घर्तीले आपूर्ति मन्त्रालयलाई कार्यसूचीबाट हटाएकी थिइन् ।छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद् एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले विमानस्थलहरुको सुधार र नेपाली आकाशलाई सुरक्षित तुल्याउनेबारे बजेटमा एउटै कार्यक्रम नरहेको भन्दै आलोचना गरे । उनले पर्यटन मन्त्रालयले उड्डयन क्षेत्रको सुधारमा ध्यान दिनुको साटो जहाज किन्नमा मात्र चासो लिएको भन्दै जहाज मात्र किनेर पर्यटन क्षेत्रको विकास नहुने बताए ।
कांग्रेसका सांसद् डा. महतले दुई वर्षको अवधि नपुगी कर्मचारीहरुलाई सरुवा नगर्ने र सरुवा गर्दा योग्यता र क्षमतालाई प्राथमिकता दिने व्यवस्था गरिनुपर्ने बताए ।
बैठकमा सत्ता साझेदार नेकपा एमालेका सांसद् डा. राजन भट्टराई र नेकपा माओवादी केन्द्रका सांसद् रामनारायण बिडारीले निजामती कर्मचारीहरुले काम गर्नुको साटो हाजिर मात्र गरेर तलब पकाउने गरेको भन्दै कर्मचारीहरुलाई सेवाग्राहीप्रति उत्तरदायी बनाउन आवश्यक रहेको बताए । उनीहरुले काम गरेवापत घुस माग्ने प्रवृत्ति रोक्न सरकारले ध्यान दिनुपर्ने धारणा राखे ।
तपाइँको प्रतिक्रिया