संसदीय समितिले भन्यो- टीकापुर घटनामा ६ नेता दोषी !

१३ असोज, काठमाडौं । संसदको एक छानविन समितिले कैलालीको टीकापुर हत्याकाण्डको पृष्ठभूमिमा ६ जना नेताहरुलाई दोषी पाएको छ । यद्यपि समितिले औपचारिकरुपमा सो घटनामा कसैलाई दोषी ठहर गरेर कारवाहीको सिफारिस भने गरेको छैन ।
संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले गठन गरेको स्थलगत अध्ययन अवलोकन कार्यदलले घटनाको एक महिना ६ दिनपछि आफ्नो प्रतिवेदन बुझाएको छ ।
संसदीय टोलीले टीकापुरका विभिन्न पक्षसँग छलफल गर्दा कांग्रेस नेता शेरबहादुर देउवा, एमाले उपाध्यक्ष भीम रावल र एमाओवादी नेता लेखराज भट्टले अखण्डको मात्र वकालत गर्दा थारुहरु आक्रोशित भएको पाइएको समितिका संयोजक जीवन श्रेष्ठले बताए ।
त्यस्तै साउन २८ गते फोरम अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र कांग्रेस सभासद अमरेशकुमार सिंहले पहाडे लखेट्न भनेर दिएको उत्तेजक अभिव्यक्तिका कारण घटनामा बल पुगेको श्रेष्ठले बताए । ‘यो समस्या सिर्जना गरेको आरोप शेरवहादुर देउवा, भीम रावल र लेखराज भट्टमाथि रहेछ’ श्रेष्ठले भने ‘टीकापुर घटना हुनुमा उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेश सिंहको गैरजिम्मेवार अभिव्यक्ति र उक्साहट नै हो भन्नेमा सबै सहमत देखिए’ ।
कार्यदलका संयोजक एमाले सांसद श्रेष्ठले कैलालीमा अहिले दुई पार्टी मात्र रहेको बताए । ‘कैलाली जिल्लामा ३० भन्दा बढी दलहरु छन् तर, अहिले संघीयताको सीमांकनपछि अखण्ड पार्टी र थारु पार्टी मात्र देखिन्छन्’ श्रेष्ठले भने ।
समितिका संयोजक जीवन श्रेष्ठ र सदस्यहरु कमलाकुमारी घिमिरे, ओङ्दी शेर्पा, चन्द्रादेवी जोशी र प्यारेलाल राना थारुले टीकापुर घटनामा संलग्न रहेको भनेर पक्राउ परेकाहरुसँग बयान लिएका छन् ।
बयानका क्रममा उनीहरुले आफूहरु (खारा) जरिवाना तिर्नुपर्ने डरले गाउँका बडघरको उर्दी मान्न जुलुसमा गएका बताएका थिए । ‘धेरै मान्छेलाई बडघरहरुले जुलुसमा नगए १ हजार दैनिक जरिवाना तिर्नुपर्ने भनेकाले गएको पाइयो’ उनले भने ।
तपाइँको प्रतिक्रिया