सडक अबरुद् नहुने

चितवन जेठ, २६-
दैनिक चार घन्टा आवागमन रोकेर सडक विस्तार भइरहेको नारायणगढ–मुग्लिन सडकखण्डमा अब आवागमन नरोकिने भएको छ ।गत माघ २८ गतेदेखि दैनिक मध्याह्न ११ बजेदेखि दिउँसो ३ बजेसम्म आवागमन बन्द गरेर सडक विस्तारको कार्य गरिँदै आएको हो । नारायणगढ–मुग्लिन सडकखण्ड आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार वर्षातको समयमा काम गर्न कठीन हुने हुँदा असार १ गतेदेखि गाडी बन्द नगरिने बताइएको छ । असारसँगै बढी पानी पर्ने भएकाले हाल विस्तार भएका ठाउँमा पहाड फोर्न कठिन हुने हुँदा अन्य पत्थर भएको ठाउँमा एकतर्फी सवारी आवागमन गराएर काम गराइने उहाले जानकारी दिनुभयो । नारायणगढदेखि १७ किलोमिटर परको गाईघाट, २२ किलोमिटर परको घुमाउने २७ किलोमिटर परको जलवीरे र ३३ किलोमिटर परको कालिखोला सडकखण्ड पहिरोको उच्च जोखिममा रहेको उनले जानकारी दिए । काम नभए पनि पानी आएमा वा सुक्खा बेलामा पनि यी ठाउँमा पहिरो जाने सम्भावना रहन्छ । आजकल पनि यहाँ दैनिक जसो सानो ठूलो पहिरो खस्दा यात्रुले सास्ती व्यहोर्नुपरेको छ । कामका लागि बाटो बन्द नभए पनि पहिरो गएमा बन्द हुने खतरा भने कायमै छ । तर उपकरण ठाउँठाउँमा राखेका कारण लामो समय आवागमन बन्द नहुने प्रवन्ध मिलाइएको खनालले जानकारी दिए । नारायणगढ र गोरखा जोड्न सन् १९८२ मा चीन सरकारको सहयोगमा सो सडक बनेको थियो । नारायणगढ–मुग्लिन सडक पूर्व तथा पश्चिम नेपालका गाडी काठमाडौँ र पोखरा जाने आउने मुख्य मार्ग हो । सो सडकखण्ड दुई लेनको बनाउने काम भइरहेको छ । नारायणगढ–मुग्लिन सडक हुँदै दैनिक सरदर सात हजार ३०० गाडी ओहरदोहर हुने गर्छ । भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुप काम हुन नसकेको नारायणगढ–मुग्लिन सडकखण्ड विस्तार कार्य पछिल्लो समय तीव्र गतिमा अगाडि बढाइएको छ । विसं २०७२ वैशाखदेखि थालिएको निर्माण कार्य २०७४ को भदौमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो ।
तपाइँको प्रतिक्रिया