सन्दीप लामिछानेविरूद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै

काठमाडौं, कात्तिक १४
सरकारी वकिलको कार्यालय काठमाडौंले आज सन्दीप लामिछानेविरूद्ध अदालतमा मुद्दा दर्ता गर्ने भएको छ ।
नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेविरूद्ध आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिन लागेको कार्यालय प्रमुख सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले जानकारी दिनुभयो ।
फाइल तयार भैसकेको र आजै मुद्दा दर्ता हुने उहाँले बताउनुभयो । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार सुरू भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन ।
प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया