सबैदलको सहमतिमा बालकृष्ण ढुङ्गेलको रिहाईः गृहमन्त्री बादल

आरती सापकोटा,
गैँडाकोट, १६ जेष्ठ ।
गृहमन्त्री रामबहादुर थापा बादलले नेता बालकृष्ण ढुङ्गेलको रिहाई नियमित प्रकृया भएको बताउनुभएको छ । आज चितवनको भरतपुर बिमानस्थलमा प्रेस चौतारी नेपाल र संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री थापाले ढुङ्गेलको मुद्धा युद्धकालिन राजनितिक मुद्धा भएकाले सबै राजनैतिक दलहरुका बिचमा सहमती भएअनुसारनै गणतन्त्र दिवसको दिनमा रिहाई गरिएको बताउनुभयो । उहाँले ४० प्रतिशत कैद भुक्तान गरिसकेका कैदिहरुलाई दिने सुविधा अनुसार नै ढुङगेल रिहाई भएकाले अन्यथा नलिन समेत उहाँले आग्रह गर्नुभयो ।
एक फरक प्रसंगमा मन्त्रि थापाले सिके राउत र विप्लव समूहलाई मुलधारको राजनितिमा आउन आग्रह गनुभयो । देशमा अस्थिरता मच्चाउन खोजिए कानुनी र प्रशासनिक दुबै बाटो अपनाउने उहाँले चेतावनी समेत दिनुभयो ।
मंगलबार प्रस्तुत गरिएको बजेट पूर्वाधार निर्माण,सुशासन र समाजबाद उन्मूख भएको मन्त्री थापाको तर्क थियो । अर्को प्रसंगमा मन्त्री थापाले विकास निमार्णमा देखापर्ने अनियमिता, भ्रष्टाचार र ढिलासुस्ती कम हुने उल्लेख गर्दै समयमै काम नसक्ने ठेकेदारलाई कार्वाही गर्ने बिषय बजेटमै उल्लेख भएकाले अब मुलुक शुसासन तर्फ जाने उहाँको भनाई छ । “नारायणगढ मुग्लिन सडकको छैठौं पटक म्याद थप्न गरिएको प्रयासका विषयमा संचारकर्मीले सोधेको प्रश्नमा मन्त्री थापाले आबश्यक छानबिन गरेर ठोस निर्णय लिईने बताउनुभयो ।
तपाइँको प्रतिक्रिया