सरकार सञ्चालन सम्वन्धी संयन्त्रको संयोजकबाट नारायणकाजी श्रेष्ठद्वारा राजीनामा

माघ १४, एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले सरकार सञ्चालन सम्वन्धी संयन्त्रको संयोजकबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत भएको छ र अब केन्द्रीय कार्यालयले नै यो हेर्नेछ । एमाओवादीले सरकारमा सहभागी मन्त्रीहरुको काम कारबाहीको अनुगमन गर्न उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा संयन्त्र बनाएको थियो । तर, मन्त्रीहरुको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै श्रेष्ठले यसअघि पनि संयन्त्रमा नबस्ने चेतावनी दिएका थिए । यो पटक भने उनले लिखित रुपमा राजीनामा दिएका छन् । र, अध्यक्ष प्रचण्डले स्वीकृत गरेका छन् । सरकारमा सहभागी मन्त्रीहरुसहितको स्थायी समिति बैठकमा प्रचण्डले उपाध्यक्ष श्रेष्ठले संयन्त्रको संयोजकबाट दिएको राजीनामा स्वीकृत गरे । अब केन्द्रीय कार्यालयले नै सकारमा सहभागी पार्टी मन्त्रीहरुको कामकारबाहीको अनुगमन गर्नेछ । पार्टीका मन्त्रीहरुले संस्थागत रुपमा काम नगरेको, कार्यकर्तालाई सम्बोधन गर्न नसकेको तथा देश र जनताका लागि डेलिभरी पनि दिन नसकेको भन्दै श्रेष्ठले संयन्त्रबाट राजीनामा दिएको एक नेताले बताएका छन् ।
तपाइँको प्रतिक्रिया