‘साना मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्न मिल्दैन : चीन

आश्विन १३,न्युयोर्क । चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा नेपालको नाम नलिइकनै ‘साना मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नमिल्ने’ भन्दै भारतको पनि नाम उल्लेख नगरी ‘ठूला मुलुकले पेल्न नहुने’ बताएका छन् ।
राष्ट्रसंघको चालू ७०औं महासभा सोमबार २२ मिनेट सम्बोधन गरेका उनले ‘धनी वा गरिब, ठूला वा साना संसारका सबै देश समान रहेको’ स्मरण गराएका हुन् ।
‘सार्वभौम समानताको सिद्धान्तले राष्ट्रसंघको बडापत्रलाई मजबुत बनाएको छ, विश्वको भविष्य निर्माणमा सबै देशको भूमिका हुनैपर्छ,’ राष्ट्रसंघ महासभामा पहिलोपटक सम्बोधन गरेका राष्ट्रपति सीले भने, ‘ठूला, बलिया र धनीले साना, कमजोर र गरिबलाई पेल्न मिल्दैन । सार्वभौमिकताको सिद्धान्त भनेको भौगोलिक अखण्डता मात्र होइन । तिनको आन्तरिक मामिलामा पनि हस्तक्षेप हुनु हँुदैन । सबै मुलुकले इच्छाअनुसार स्वतन्त्रतापूर्वक आफ्नो सामाजिक व्यवस्था अनि विकासको बाटो पहिल्याउन र जनताको जीवनस्तर उकास्न पाउनुपर्छ, यसको सम्मान हुनुपर्छ ।’ विश्वका प्रमुख राष्ट्रले द्वन्द्व, झगडा होइन आपसी सम्मान र जित हुने साझेदारी निर्माणको सिद्धान्त अवलम्बन गर्नुपर्ने उनले बताए । ‘ठूला देशले साना देशलाई समान व्यवहार गर्नुपर्छ र आफ्नो चासोभन्दा न्यायलाई अगाडि राखेर सम्बन्ध बढाउने सही मार्ग लिनुपर्छ,’ उनले भने ।
सबैको जित हुनसक्ने परिणाम आउने खालको नयाँ दृष्टिकोण राख्नुपर्नेमा उनको जोड थियो । ‘हामीले त्यो थोत्रो सोच, जसमा एउटाले जित्नुलाई अर्काको हार ठान्छ वा जित्नेले सबै लैजान्छ भन्ने सोचिन्छ, त्याग्नै पर्छ,’ निरन्तर संवाद र छलफल जारी राख्न सुझाउँदै चिनियाँ राष्ट्रपतिले भने, ‘हामीले आफूबीचका विवाद र मतभेदलाई संवाद र परामर्शका माध्यमबाट समाधान गर्न सक्छौं ।’
राष्ट्रसंघको सुरक्षा परिषदका पाँच स्थायी सदस् यमध्येको एक चीनका प्रमुख कार्यकारीले राष्ट्रसंघको लक्ष्य र उद्देश्य पूरा गर्न देश–देशको आपसी सम्बन्ध, सुरक्षाको नयाँ व्याख्या, समावेशी विकास, अन्तर–सभ्यता आदानप्रदान र पर्यावरण संरक्षण प्रमुख कारणहरू रहेको औंल्याएका थिए ।
संसार निर्माणको महान् दर्शनलाई सबैले सही रूपमा बाँडनुपर्ने चिनियाँ पौराणिक भनाइलाई उद्धृत गर्दै उनले भने, ‘शान्ति, विकास, समानता, न्याय, प्रजातन्त्र एवं स्वतन्त्रता सबै मानव जातिका साझा मान्यता हुन्, जुन राष्ट्रसंघका लक्ष्य पनि हुन् ।’
करिब ३ वर्षअघि चीनको सर्वोच्च कार्यकारी पद सम्हालेका राष्ट्रपति सीले सम्बोधनका दौरान चिनियाँ विदेश नीतिलाई महासभामा राख्ने प्रयत्न पनि गरे । ‘चीन विश्व शान्तिका लागि निरन्तर सहभागी भइरहनेछ, हामी शान्तिपूर्ण विकासमा प्रतिबद्ध छौं,’ उनले वर्तमान नेपाल–भारतको सम्बन्धमा देखिएको खटपटतर्फ संकेत गर्दै भने, ‘चीनले कहिल्यै हेपाहापन, विस्तारित हुने वा प्रभावमा राख्ने सोच लिने छैन ।’
तपाइँको प्रतिक्रिया