सामाजिक सञ्जालबाट फिल्मको पाइरेसी भइरहेको भन्दै ‘जारी’का निर्माताले दिए प्रहरीमा उजुरी

बैशाख ३, काठमाडौं ।
सामाजिक सञ्जालबाट फिल्मको पाइरेसी भइरहेको भन्दै अहिले हलमा प्रदर्शन भइरहेको ‘जारी’का निर्माताले प्रहरीमा उजुरी दिएका छन् । आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिंदै निर्माता मणिराम पोखरेलले पाइरेसीमा संलग्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् । हलमा खिचेर ती एकाउन्टबाट फिल्मका दृश्य हाल्दा निर्मातालाई आर्थिक नोक्सान भएकाले पाइरेसीमा संलग्नको अनुसन्धान गरी क्षतिपूर्ति दिलाइदिन समेत उनको माग छ ।
दयाहाङ राई र मिरुना मगरको अभिनय रहेको यो फिल्म शुक्रबारदेखि देशव्यापी प्रदर्शन भइरहेको छ । यसअघि छक्कापञ्जा ४ पाइरेसी भएको भन्दै निर्माताले साइबर ब्युरोमा उजुरी दिएपछि प्रहरीको तदारुकतामा पाइरेसी गरिएका एकाउन्टबाट ती दृश्य हटाइएको थियो ।
पछिल्लो समय सामाजिक सञ्जालबाट हुने फिल्म पाइरेसी निर्मातालाई हैरानीको विषय बनिरहेको छ भने ठूलो आर्थिक क्षति पनि पुगेको निर्माता संघले जनाएको छ ।
तपाइँको प्रतिक्रिया