सीमांकन हेरफेरविरुद्ध दोस्रो दिन पनि रुपन्देहीको बुटवल बन्द

१६ मंसिर, बुटवल , सीमांकन हेरफेरविरुद्धको एमाले कार्यकर्ताहरुले दोस्रो दिन पनि रुपन्देहीको बुटवल बन्द गराएका छन् । प्रदर्शनकारीले होटल कस्तुरीमा तोडफोड भएको जानकारी प्राप्त भएको छ । बन्द अवज्ञा गरेको भन्दै उनीहरुले होटल कस्तुरीमा तोडफोड गरेका हुन् । यसैगरी देबीनगरमा मोटसाइकल र दीपनगर चोकमा अटो रिक्सामा तोडफोड भएको छ । अखण्ड पाँच नम्बर प्रदेशको माग गर्दै सुरु भएको आन्दोलनले जनजीवन प्रभाबित भएको छ । बुटवल बहुमुखी क्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, वाणिज्य क्याम्पसलगायतबाट विद्यार्थी नेताहरुले नेतृत्व गर्दै जुलुश निकालेका थिए । जुलुशले बुटवल बजार परिक्रमा गरी मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्ने नेविसंघ केन्द्रीय उपाध्यक्ष प्रकाश रानालगायतले सीमांकन हेरफेरको निर्णय नसञ्चाएसम्म आन्दोलन कुनै हालतमा नरोकिने बताएका थिए । एमाले समर्थित विद्यार्थी संगठन अनेरास्ववियु र जनमोर्चा निकट अनेरास्ववियु छैठौंले पनि विहीबार बिहानैदेखि टायर बालेर बिरोध प्रदर्शन गरेका थिए । सत्तारुढ कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता पनि संशोधन प्रस्तावको बिरोधमा सडकमा निस्किएका छन् । यसैगरी एमाले कार्यकर्ताहरुले भैरहवा बन्द गराएका छन् । युवा संघ र अनेरास्ववियुका कार्यकर्ताहरु बुद्ध चोकमा भेला भएर टायर बाल्दै प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण लामो तथा छोटा दुरीका गाडी चलेका छैनन् । शिक्षण संस्था बन्द छ । बजारमा बन्दको आंशिक प्रभाव परेको छ भने बैंक र वित्तीय संस्था खुल्लै छन् ।
तपाइँको प्रतिक्रिया