सुन्तला जात फलफूलले हराभरा बने पाखापखेरा

ज्ञानु पंगेनी
गैंडाकोट, असोज १३
केही वर्ष अघिसम्म नाङ्गो पाखापखेरामा सीमित रहेको नवलपुरको गैंडाकोट नगरपालिका १८ को बसेनी, डोँडे, रतनपुर बस्तीमा यतिबेला सुन्तला जात फलफूलका बोट बिरुवाले भरिभराउ छन् ।
तराईको राजमार्गसँग जोडिएको गैंडाकोट नगरपालिकाको दुर्गम ठाउँका रुपमा गैंडाकोट १८ चिनिन्छ । सुन्तला जात फलफूल खेती सुरु गरिएको बसेनी, डोँडे गाउँ करिब १५ सय मिटर उचाइमा छ ।
यहाँको नाङ्गो पाखामा यसरी हरियाली भएको धेरै समय पनि भएको छैन् । २०७५–०७६ बाट प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना (सुन्तला जात फलफूल जोन) लागू भएपछि यहाँका पाखा पखेरामा किसानले फलफूल खेती गर्न हौसिए, जसको फलस्वरुप अहिले यहाँ पाखापखेरामा सुन्तला, कागती, निबुवा, मौसमका बोट देख्न सकिन्छ । यहाँ पुग्ने जोकोहीलाई पनि लाग्छ, लगानी र मेहेनत हुने हो भने असम्भव भन्ने केही नहुने रहेछ !
सरकारको लगानी र किसानको मेहनतले यहाँका नाङ्गो पाखापखेरा अहिले हरियाली मात्रै भएका छैनन् । सुन्तला जात फलफूलका बगैँचामा लटरम्म फल लागेका छन् । किसानले उत्पादन बिक्री समेत गर्न सुरु गरेका छन् ।
परियोजना लागू हुनुभन्दा अघि यहाँका बासिन्दाले व्यवसायिक रुपमा सुन्तला जात फलफूल खेती गर्दैन थिए, कताकती ढिक र जुठेल्नामा बोट लगाउथेँ । उत्पादन राम्रै थियो । जसले सुन्ताल जात फलफूल खेती गर्न उपयुक्त ठाउँ हो भन्ने पुष्टि गरेको थियो । अहिले भने, यहाँ विभिन्न कृषक समूह, व्यक्तिगत फर्म, कृषि सहकारी मार्फत व्यवसायिक रुपमा सुन्तला जात फलफूल खेती गरिएको छ ।
यहाँका ५१ घरधुरी व्यवसायिक फलफूल खेतीमा संलग्न छन् ।
यहाँ ठूलो मात्रामा सुन्तला जात फलफूल खेती गर्नुभएका किसान गुप्त प्रसाद रेग्मीले ८० रोपनी क्षेत्रफलमा सुन्तला जात फलफूल खेती गर्नुभएको छ । उहाँले ३ हजार बोट सुन्तला, कागती र निबुवाको बोट लगाउनुभएको छ । सुरुमा एभोकाडो खेती गर्ने सोचले उहाँले जग्गा खरीद गर्नुभएको थियो । पछि परियोजना लागू भएपछि सुन्तला जात फलफूल खेतीतर्फ आकर्षित भएको उहाँले बताउनुभयो ।
पहाडी क्षेत्रमा सिँचाइका लागि समस्या हुने भएपनि परियोजनाको सहयोगले निकै सहज भएको उहाँले बताउनुभयो । टिप्लिङ्ग सिँचाइको काम जोन मार्फत भएको छ । मल बीउमा पनि अनुदानमा पाएपछि खेती गर्न हौसला मिलेको उहाँ बताउनुहुन्छ । केही समस्या परेमा फिल्डै मै आएर समस्या समाधान गर्ने हुँदा खेती गर्न कुनै पनि कठिनाइ नभएको उहाँको भनाई छ ।
ठूलो मात्रामा सुन्तला जात फलफूल खेती गर्नुभएका अर्का किसान युग बहादुर सारू मगरले डोँडे रतनपुर गाउँमा १६ रोपनी क्षेत्रफलमा सुन्तला र मौसम खेती गर्नुभएको छ । सुन्तला र मौसमको ६ सय बोट उहाँले रोप्नुभएको छ । यस अघि मकै कोदो लगाएर निर्वाहमुखी खेतीबाट जीवन निर्वाह गर्ने काम मात्रै हुँदै आएको उहाँको भनाई छ । उहाँले अझै खेती बिस्तार गर्ने सोच बनाउनुभएको छ । अब आफ्नो आर्थिक स्तर उकास्ने लक्ष्य राखेर व्यवसायिक कृषि खेतीमा लागेको बताउनुभयो । उहाँले करिब साढे चार लाख लगानी लगाएको जानकारी दिनुभयो । उहाँले खेती गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट धेरै कुरामा सहयोग भएको बताउनुभयो । बिरुवा , कृषि औजार , सिँचाइ र प्राविधिक कुरामा परियोजनाले सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई नवलपुरका प्रमुख विष्णु प्रसाद शर्माका अनुसार बौदीकाली, बुलिङ्टार, गैंडाकोटका विभिन्न नयाँ ठाउँमा परियोजनाले क्षेत्र बिस्तार गरेको छ । गैंडाकोट १८ मा पनि क्षेत्र बिस्तार अन्तरगत सुन्तला जात फलफूल खेतीमा किसान आबद्ध भएका छन् । किसानले यहाँ निकै राम्रो काम गरेको उहाँ बताउनुहुन्छ । नमूनाको रुपमा यस क्षेत्रमा सुन्तला जात फलफूल खेती विकास भइरहेको उहाँले ताउनुभयो । कार्यालय प्रमुख शर्माका यहाँ अनुसार २५ हेक्टर क्षेत्रफलमा करिब १० हजार बिरुवा रोपण गरिएको छ । कलमी र बीजु दुवै थरीका बिरुवा यहाँ रोपिएके छ । यहाँ उत्पादन दिन समेत सुरु भएको छ । एक पटक रोपेको बीरुवाले २० वर्षसम्म उत्पादन दिने उहाँले जानकारी दिनुभयो ।
जिल्लाका पहाडी क्षेत्रहरुमा जोन कार्यक्रम मार्फत क्षेत्रफल बिस्तारका कार्यक्रम भएका छन् । परियोजना लागू भएपछि नयाँ किसान समेत उत्साहित भएर लागेका छन् । भने पहिले देखि नै खेती गर्दै आएका किसानलाई समेत सहयोग पुगेको छ । बगैँचाको रेखदेख, मलजल र रोग कीरा लाग्दा परियोजनाले प्राविधिक सहयोग समेत गर्दै आएको छ । विभिन्न तालिम सञ्चालन गरेर किसानलाई सचेतना जगाउने काम समेत भएको छ । भने, नयाँ कामका रुपमा सुन्तला जात फलफूको नर्सरी समेत स्थापना गरिएको छ ।
परियोजना अन्तरगत सुन्तलाजातको विरुवमा ५० प्रतिशत, सिचाईका लागि ८५ प्रतिशत, कृषि औजारका लागि ५०, निशुल्क प्राविधीक सेवा, संकलन केन्द्र निर्माणका लागि ८५ प्रतिशत अनुदान प्रदान गरेर कृषकलाई खेतीका लागि प्रेरित गर्ने काम गरिएको छ ।
तपाइँको प्रतिक्रिया