सुरक्षित पानी वितरणमा ध्यान दिन गैंडाकोट नगर प्रमुख अधिकारीको आग्रह

गैंडाकोट
गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले मानव जीवनका लागि पानी अपरिहार्य रहेको बताउँदै सुरक्षित पानी वितरणमा ध्यान दिन आग्रह गर्नुभयो । मुकुन्दपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १५ औं वार्षिक साधारण सभामा प्रमुख अतिथीको सम्बोधन गर्दै नगरप्रमुख अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले संस्थाको प्रगतिको कामना गर्दै नगरपालिकाको तर्फबाट आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । शनिबार गैंडाकोट ११ भेडाबारीमा रहेको संस्थाको प्राङ्गणमा १५ औं साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रमका अध्यक्ष संस्थाका कार्यवाहक अध्यक्ष चन्द्रदत्त जैसीले संस्था आर्थिक रुपमा कमजोर रहेका कारण पिउने पानी निशुल्क वितरण गर्न नसकिएको जनाउँदै स्थानीय सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । कार्यबाहक अध्यक्ष जैसीले संस्थागत ऋणको भार साँवा तर्फ १० करोड ३८ लाखबाट घटाएर ५ करोड २ लाख रुपैयाँमा सिमित गर्न सफल रहेको समेत बताउनुभयो ।
कार्यक्रममा पूर्व सांसद सत्यनारायण खनाल, नगर उपप्रमुख शान्ति कोइराला, संस्थाका पूर्व अध्यक्ष कृष्णप्रसाद रेग्मी, खानेपानी सुरक्षा योजना टोली संयोजक गोविन्दराज कोइराला, नगर अस्पतालका प्रमुख पुष्पराज श्रेष्ठ, मुकुन्दपुर बजार व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठ, उपभोक्ताको तर्फबाट शालिकराम सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वडाअध्यक्षहरु देविदत्त कंडेल, गोविन्दप्रसाद सुवेदी, चक्रपाणी कंडेल, मधुकर मल्ल, कार्यपालिका सदस्य एवं वडा सदस्य विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको उपस्थिती रहेको थियो ।
संस्थाका सचिव विनोदकुमार श्रेष्ठले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रोहिणी सदाशंकर सुनारले आर्थिक प्रतिवेदन, आन्तरिक लेखापरीक्षण संयोजक कृष्णप्रसाद आर्चायले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सदस्य बुद्धि प्रसाद निउरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रम लेखा समिति सदस्य प्रदिप रेग्मीले सहिजकरण गर्नुभएको थियो ।
यस संस्थाले हाल गैंडाकोट १०, ११, १२ र १३ का करिब २७ हजार उपभोक्तालाई खानेपानी उपलब्ध गराउँदै आएको छ भने यस क्षेत्रका ३९ सय घरधुरीका ९७ प्रतिशत अर्थात ३८ सय १८ घरधुरीमा चौविसै घण्टा पानी वितरण गर्दै आएको छ । संस्थाले भूमिगत २ वटा र सतहगत ककरसोत खोलाबाट गरी पानी वितरण गर्दै आएको छ । संस्थाले ३ किलोमिटर मुख्य पाइपलाईन र ११५ किलोमिटर वितरण पाईपलाईन विस्तार गरी पानी वितरण गर्दै आएको संस्थाका व्यवस्थापक हरिप्रसाद पनेरुले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया