सुविधासम्पन्न बन्दै भरतपुर अस्पताल,वीर अस्पतालपछि सबैभन्दा बढीको उपचार

चितवन,साउन २९-
वीर अस्पतालपछि सबैभन्दा बढीको उपचार गराउँदै आएको भरतपुर अस्पताल भौतिक एवम् उपचार उपकरणका आधारमा सुविधासम्पन्न बन्दै गएको छ । अस्पतालमा गुरूयोजनाअनुसार निर्माण भएका भवन तथा उपचारमा प्रयोग गरिने उपकरणहरु पनि अत्याधुनिक रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीले बताए ।
बहुप्रतिक्षित ‘सी ब्लक’ भवन निर्माणका लागि आगामी भदौ महिनामा टेण्डर प्रक्रियामा जाने तयरी रहेको उनले बताए । ‘सी ब्लक निर्माण सम्पन्न हुनका लागि २÷३ वर्ष लाग्न सक्छ, मेसु डा. मरासिनीले भने, ‘अस्पताल थप नयाँ गुरूयोजना बनाउने तयारीमा छ ।’
अस्पतालको स्वामित्वमा रहेको जग्गाको खोजी भइरहेकोसमेत उनले जानकारी दिए । जग्गाको खोजी गरी विभिन्न आवश्यक संरचनाहरु निर्माण गरिने उनले बताए ।
१ सय २८ स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन, अत्याधुनिक एमआरआई मेसिन ल्याउने तयारी अन्तिम चरणमा पुगेको उनले बताए । सकेसम्म दसैँसम्ममा उक्त उपकरणहरु जडान गरी सेवा सुरू गरिने उनले बताए ।
त्यस्तै ‘ए ब्लक’मा अप्रेसन कक्ष, आईसीयु कक्ष विस्तार गर्ने तयारी रहेको उनले बताए । २८ शैयाको आईसीयू, एकैपटकमा ६ वटासम्म अप्रेसन गर्न सकिने पूर्वाधार तयार पार्ने उनले बताए । उनका अनुसार मुखबाट पाइप हालेर पित्त थैलीमा रहेको ढुङ्गा निकाल्ने उपचार पद्धति एआरसिपी पनि सञ्चालनमा रहेको उनले बताए ।
अस्पतालको बजेट अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बढेको छ । त्यस्तै सेवा विस्तारअन्तर्गत पेइङ वार्ड, क्याबिनको विस्तार गरिएको उनले बताए । पुरानै शुल्कमा नयाँ सेवा दिन थालिएको उनले बताए । प्रयोगशाला, अल्ट्रा साउण्डलगायतको सेवा २४ सै घण्टा बनाउने तयारी भएको उनले बताए ।
अस्पतालमा टिकट काट्ने तथा पैसा बुझाउने ठाउँमा अत्यधिक भीड हुने गरेको गुनासो आएपछि त्यसको सम्बोधनका लागि धेरै काउन्टर राख्ने गरी राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गको बैंकलाई जिम्मा दिने तयारी गरेको उनले बताए ।साथै, उनले भरतपुर उपमहानगरपालिका र निजी अस्पतालसँग समन्वय गरी फोहोर व्यवस्थापन प्लान्ट बनाउने सोच भएको बताए ।
सर्वोच्च अदालतको आदेशअनुसार अस्पताल आफैँले फार्मेसी सञ्चालनको तयारी गरेकोसमेत मेसु डा. मरासिनीले बताए । भरतपुरमा शुक्रबार पत्रकारहरुलाई अस्पतालको वर्तमान अवस्था र योजनाबारे जानकारी दिँदै अस्पतालका अध्यक्ष विजय सुवेदीले सबैको सहयोग भएमा भरतपुर अस्पताललाई यस क्षेत्रकै नमूना अस्पताल बनाउन सकिने बताए ।
चितवन पोष्ट दैनिकवाट
तपाइँको प्रतिक्रिया