हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा भेटियो

१६ जेठ, काठमाडौं । हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको छ ।
स्थानीय शेर्पाहरुले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेको नेपाली सेनाका प्रवक्ता सिलवालले जानकारी दिए अहिले त्यहाँसम्म हाम्रो टोली पुग्ने प्रयासमा रहेको र प्रतिकूल मौसम र कठिन भूगोलका कारण ठूलो हेलिकोप्टर पुग्न नसक्ने भएकाले सानो हेलिकोप्टर दुर्घटनास्थलमा पठाउने तयारी भइरहेको उनले बताए ।
हिजो बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी कल साइन भएको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको थियो । सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए । हिजो दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । आज बिहान ५ बजेदेखि फेरि हवाई र स्थल दुवै तर्फबाट खोजी सुरु गरिएको थियो ।
तपाइँको प्रतिक्रिया