१४ बोरामा २८२ पोका चरेस नियन्त्रणमा

चितवन २१ , चितवनको मुग्लिन बजारमा मंगलवार बिहान ठूलो परिमाणमा लागुऔषध चरेस बरामद भएको छ । मध्यक्षेत्र अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय चितवनले सुराकका आधारमा २८२ किलो चरेस नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरका अनुसार धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको ना ३ ख ६२५२ नंको ट्रकमा १४ बोरामा २८२ पोका पारिएको अवस्थामा चरेस नियन्त्रणमा लिइएको हो । ट्रकका चालक मकवानपुर जिल्ला नामटार गाविस–९ का ३० वर्षीय कुमार गोलेलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । चरेस ओसारपसारमा संलग्न भरियाको धादिङमा खोजी भइरहेको छ । यो परिमाणको चरेस जिल्लामा नियन्त्रणमा लिइएको सम्भवतः पहिलो भएको उहाँले बताउनुभयो । यसैबीच मंगलवार बिहानै पूर्वी चितवनको भण्डारमा रहेको प्रहरी चौकबिाट २५ किलो गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरीक्षक कुँवरका अनुसार पक्राउ पर्नेमा मकवानपुर, हेटौँडा नगरपालिका–२८ का जीवराज बुलन, हाँडीखोला गाविस–५ का ३९ वर्षीय दीपक लामा र बसका चालक हेटौँडा नगरपालिका–२९ का २३ वर्षीय ईश्वर अर्याल छन् । बुलन र लामाको झोलाबाट गाँजा बरामद भएको हो । उनीहरु वीरगन्जबाट काठमाडौँ जान आउँदै गरेको ना ५ ख ३५०३ नंको बसमा रहेको अवस्थामा प्रहरीले जाँच गर्दा गाँजा बरामद भएको जनाइएको छ ।
तपाइँको प्रतिक्रिया