१७२ गैँडाको प्रोफाइल तयार

२८ माघ, रत्ननगर । चितवन निकुञ्जमा रहेका दुर्लभ एवम् संरक्षित एकसिङ्गे गैँडाको संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र चितवनले १७२ गैँडाको प्रोफाइल तयार पारेको छ । गैँडाका हरेक क्रियाकलापको अनुगमनका लागि यसरी प्रोफाइल तयार पार्न थालिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. चिरञ्जीवी पोखरेलले जानकारी दिए ।
उनीहरुको ज्यानमा भएको सङ्केतका आधारमा नामकरण गरेर कति वर्ष, कुन क्षेत्रमा बढी भेटिएको, आनीबानी तथा बच्चा भए÷नभएको जस्ता विवरण लिएर प्रोफाइल बनाइएको उहाँको भनाइ छ । सिङ्ग नभएकोलाई ठुटे, दुवी आएको देखिएको, कहीँ टाटा भेटिएको तथा ज्यानमा डल्लो देखिएको गैँडालाई सोही अनुसार नै नामकरण गरिएको छ । यसरी प्रोफाइल लिँदा गैँडाको अनुगमनमा कुन गैँडा भेटिएन भनेर पहिचान हुनेछ ।
यस्तै बस्तीमा पसेको गैँडा कुन हो, हरायो भने कुन गैँडा हरायो, कुन गैँडालाई के समस्या छ भनेर छुट्याउनसमेत सहज हुने भएकाले प्रोफाइल तयार पार्न थालिएको कोषले जनाएको छ । पछिल्लो समयमा मोबाइल एप्लिकेसनमार्फत गैँडाको अनुगमन हुन थालेकाले प्रोफाइल राख्दा थप सहज हुनेछ । सकेसम्म निकुञ्जमा भएका सबै गैँडाको प्रोफाइल लिने जनाइएको छ ।
हाल चितवन निकुञ्जमा ६०५ दुर्लभ एकसिङ्गे गैँडा रहेको छ । गएको हप्ता मात्रै सन् २०१५ मा कुनै पनि गैँडा चोरी–सिकारीबाट नमारिएको भन्दै शून्य चोरी–सिकार वर्षसमेत मनाइएको थियो । यो उपलब्धिलाई कायम राख्न पनि गैँडाको प्रोफाइल र मोबाइल एपबाट भएको अनुगमनले सहयोग मिल्ने चितवन निकुञ्जले जनाएको छ ।
निकुञ्जमा सूचना प्रविधिको प्रयोग गरेर अनुगमन कार्य तीव्र पारिएको छ । यहाँ कुकुरको समेत परिचालन गरेर गस्ती गर्न थालिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । रासस
तपाइँको प्रतिक्रिया