२ दिने बैठक अमलटारीमा बस्दै

कावासोती २० , नेकपा एमालेले प्रदेश कार्यन्वयनका लागि नवलपुर क्षेत्रको अमलटारीमा भेला तथा बैठक गर्न लागेको छ । नवलपरासीको दाउन्ने पूर्वभागलाई संबिधानले प्रदेश नं. ४मा कायम गरेपछि एमालेले पहिलो पटक थारु होमस्टे गाउँ अमलटारीमा आइतवार देखि दुई दिन बैठक गर्न लागेको हो । एमालेका केन्द्रीय सदस्य तिलक महतका अनुसार प्रदेश नं. ४का ११ जिल्लाका पार्टी अध्यक्ष, पूर्व अध्यक्ष, केन्द्रीय सदस्य, पूर्व राष्ट्रिय प्रतिनिधि परिषदका सदस्यहरु सहित यो प्रदेशका पोलिटब्युरो सदस्य र स्थायी समितिका सदस्यहरुको भेला तथा बैठकमा सहभागीता रहने छ । मनाङ्ग , मुस्ताङ्ग, गोर्खा, म्याग्दी, पर्वत, बाग्लुङ्ग, कास्की, तनहुँ, स्याङ्जा, लम्जुङ्ग र नवलपरासी जिल्लाको दाउन्ने पूर्वको भाग प्रदेश नम्बर चारमा पर्दछ । प्रदेश नम्बर ४ मा नवलपरासीको भू भाग सानो हो भन्ने भ्रमलाई चिर्न पनि भेला महत्वपूर्ण हुने एमाले जिल्ला अध्यक्ष रोशनबहादुर गाहाले बताए । निर्वाचन क्षेत्र नं. १, २, ३ र ६ को त्रिबेणीसुस्ता प्रदेश नम्बर ४ मा पर्छ अध्यक्ष गाहाले भने—‘ जनसंख्याका आधारमा हामी यो प्रदेशको पहिलो जिल्ला हुन सक्छौ त्यो सन्देश प्रदेश भरी पुर्याउछ ’ । चितवन राष्ट्रिय निकुञ्जका आधा भाग नवलपुर क्षेत्रमा पर्छ । यो प्रदेश पर्यटकीय हवको प्रदेश हो भन्ने सन्देश पनि बैठकले दिने केन्द्रीय सदस्य महतले बताए । पर्यटकीय स्थल मौलाकालिका , र अमलटारीमा प्रतिनिधिहरुलाई भ्रमण गराइने छ । एक सय ५० प्रतिनिधिहरु सहभागी हुने कार्यक्रममा गैंडाकोट देखि दाउन्ने सम्म तुल र ब्यानरले सजाइएको छ ।
तपाइँको प्रतिक्रिया